काठमाडौँः भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३।६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको छ ।
अनुमति पाउने दुई आयोजनामा २४।२५ मेगावाटको काबेली बी १ र १९।४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै अब प्राधिकरणले ४५२।६ मेगावाटसम्म विद्युत् आईआईएक्समा बिक्री गर्न बाटो खुलेको छ ।
सुक्खायाम सुरु भएसँगै पर्याप्त विद्युत् उत्पादन नभएपछि प्राधिकरणले अहिले भारतबाट विद्युत् खरिद गरेर देशभित्र विद्युत् आपूर्ति गरिरहेको छ । आगामी वैशाख अन्तिमदेखि भने निर्यात थाल्ने योजना प्राधिकरणको छ ।
प्राधिकरणले गत वर्षदेखि दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी आईएक्समा बिक्री सुरु गरेको थियो ।
यो वर्ष थप आयोजनाले अनुमति पाएपछि २७ जेठबाट छवटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री थालेको थियो । त्यस्तै १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । अहिले थप दुई आयोजनासँगै १० जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यातको अनुमति पाएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।