इटहरीः बैंकको व्याजदरका कारण व्यावसायी धारासायी भएको भन्दै आन्दोलन रत मोरङ्ग–सुनसरीका व्यापारीहरुले बुधबार अर्थमन्त्री विष्णु पौडलसँग भेट वार्ता गरेका छन् ।
सोमबार नेपाल राष्ट्रबैंक विराटनगरका कर्मचारीलाई कार्यालयमै जान नदिइ आन्दोलन गरेका व्यावसायीहरु अचानक नयाँ सरकार गठन पछि राजधानी हाँकिएका हुन ।
काठमाण्डौ पुगे लगत्तै अर्थमन्त्री बिष्णु पौडेलसँग भेटेको र भेट वार्ता सकारात्मक भएको टिप्पणी उनिहरुले गरेका छन् ।
सडक आन्दोलन गरिरहेकै बेला नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले वार्ताका लागि बोलाएपछि आन्दोलन रोकेर काठमाडौं गएका उद्योगीहरुले बुधबार अर्थमन्त्री पौडेलसँग छलफल गरेका थिए । त्यसक्रममा अर्थमन्त्री पौडेलले समस्या समाधानको आश्वासन दिएको वार्तामा सहभागी उद्योगीहरुले बताएका छन्।
‘तपाइँहरुलाई मैले नै वार्ताका लागि बोलाएको हुँ’, उद्योगीहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘तपाइँहरुको समस्याप्रति गम्भीर छु । अब छिटै राष्ट्र बैंकका गभर्नरसँग पनि सल्लाह गरेर समस्याको समाधान निकाल्नेछु।’
निजी क्षेत्रका विभिन्न संघसंस्थाको अगुवाईमा सुरु भएको आन्दोलन निष्कर्षमा नपुगेसम्म जारी रहने उद्योगीहरुको भनाइ थियो । खासगरी राष्ट्रबैंकको नीतिले आफूहरु मारमा परेको उनीहरुको भनाइ छ ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए । चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा निर्देशिकाको विपक्षमा रहेका उद्योगी आन्दोलनमा उत्रिएका हुन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, सीएनआईको प्रदेश नम्बर १ समितिसहित छलफलमा विराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ, सुनचाँदी व्यवसायी संघ, नाडा प्रदेश समिति र वस्तुगत संघहरु छलफलमा सहभागी थिए ।
उनिहरुले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेडदर दुई प्रतिशत कायम गर्नुपर्ने, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत कायम गरिनुपर्ने उनीहरुको माग छ । त्यस्तै बैंकर र व्यवसायीलाई अलग–अलग गर्नुपर्ने माग राखेका छन् ।