धरानः धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज प्रतियोगितामा साहित्यिक कार्यक्रम अन्तर्गत हाजिरीजवाफ, स्पेलिङ बि, वक्तृत्वकला, कविता, स्केचिङ र पेन्टिङ, सर्ट स्टोरी लेखन, निबन्ध लेखन, पुस्तक समीक्षा लेखन र फोटोग्राफीका कार्यक्रम सम्पन्न भएका छन् ।
हाजिरीजवाफ संयोजक समीक्षा शर्माका अनुसार प्रतिष्ठानका डाक्टर दिपेशराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सिएमसी पहिलो भएको थियो । बीपी ट्राइसेप्स दोस्रो तथा नोबेल मेडिकल कलेज तेस्रो भएका छन् ।
त्यस्तै, स्पेलिङ बिकी संयोजक श्रेया र सिवान्गी कश्यपका अनुसार फाइनलमा बीपी ए पहिलो, बीपी बी दोस्रो तथा एनएमसी तेस्रो भएका छन् ।
वक्तृत्वकला अन्तर्गत एक्सटेमपोर स्पिच आयोजना गरिएको संयोजक वर्षा गर्गले बताइन् । जसअन्तर्गत अङ्ग्रेजी भाषातर्फ बीपीकी सौम्या सिंह पहिलो, जैनाव साहिर पौल दोस्रो र सपना कुमारी तेस्रो भए ।
नेपाली भाषातर्फ बीपीका किरणचन्द्र पुन पहिलो, कम्सका उदेश पान्डे दोस्रो र बीपीकी ज्योति बोगटी तेस्रो भएका राहुल सिंहले बताए ।
कविता प्रतियोगिताअन्तर्गत स्लेम पोएट्री आयोजना गरिएकोसंयोजक प्रमिशा महर्जनले बताइन् । जसअन्तर्गत अङ्ग्रेजीतर्फ किस्टकी निधि पाठक पहिलो, बीपीकी जैनाब साहिर पौल दोस्रो र उरभी श्रेष्ठ तेस्रो भएका थिए । नेपाली भाषातर्फ कम्सका उदेश पान्डे पहिलो, बीपीका विवेक कट्टेल दोस्रो र युवराज अधिकारी तेस्रो भएका थिए ।
स्केचिङअन्तर्गत कम्सका उदेश पाण्डे पहिलो, बीपीका अविचलकुमार दोस्रो र निधि रानी तेस्रो भएको संयोजक सिवान्गी प्रियदर्शिनीले बताइन् ।
पेन्टिङअन्तर्गत बीपीका आकाशकुमार गिरी पहिलो, गिरिश ज्ञवाली दोस्रो र रुपक दाहालले तेस्रो स्थान पाएका संयोजक श्वेता दासले बताइन् ।
निबन्ध लेखनमा अङ्ग्रेजीतर्फ बीपीका शुभमकुमार अग्रवाल पहिलो, जैनाब साहिर पौल दोस्रो र अमन पञ्जियारले तेस्रो स्थान हात पारेको संयोजक निष्ठा अग्रहरीले बताइन् । नेपाली निबन्धलेखनतर्फ बीपीका डा. शिव शर्मा अर्याल पहिलो, कम्सका उदेश पाण्डे दोस्रो र बीपीका बबिन कर्मचार्य तेस्रो भएको जानकारी संयोजक शिवानी सिंहले दिइन् ।
लघुकथा लेखनअन्तर्गत अङ्ग्रेजीतर्फ आइओएमका आशुतोष कश्यप पहिलो, बीपीकी विदिसा भट्टराई दोस्रो र सुशान्त कुमार तेस्रो भएका छन् । नेपाली भाषातर्फ बीपीका हरिलाल केसी पहिलो, अमृतराज जैसी दोस्रो र कम्सका उदेश पाण्डे तेस्रो भएका छन् ।
पुस्तक समीक्षा लेखनअन्तर्गत अङ्ग्र्रेजीतर्फ नोबेलकी नुपुर अरोरा पहिलो, बीपीकी जैनाब साहिर पौल दोस्रो र बिकीकुमार साह तेस्रो भएका छन् । नेपाली भाषातर्फ बीपीका हरिलाल केसी पहिलो, कम्सका उदेश पाण्डे दोस्रो र अमृतराज जैसी तेस्रो भएको जानकारी तेजेस साहले दिएका छन् ।
त्यस्तै, फोटोग्राफी प्रतियोगितामा विराटका अविनाश मण्डल पहिलो, किस्टका क्षितिज पौडेल दोस्रो र एनएमसीकी अर्शिमा दाहाल तेस्रो भएको जानकारी संयोजक मधुरेस गुप्ताले दिए ।
चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन सिंहले बताए ।