काठमाडौंः  वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले वैदेशिक रोजगारमा श्रम स्वीकृतिको टोकन व्यवस्थापनमा थप सहजीकरण गरेको छ । कार्यालयले श्रम स्वीकृति लिन चाहनेका लागि प्रत्येक दिन बिहान ११ बजेसम्म र अर्को दिन श्रम स्वीकृति लिनपर्नेका लागि प्रत्येक दिन दिउँसो ३ः३० बजेसम्म श्रम स्वीकृतिका लागि टोकन लिनुुपर्ने व्यवस्था गरेको हो । 

कार्यालयका अनुसार यो व्यवस्था भएपछि तत्काल श्रम स्वीकृति लिन खोज्नेले पनि श्रम स्वीकृति नपाउने समस्या हटेको छ । कतिपयको एक÷दुई दिनमै हवाई टिकट हुने र अन्तिम समयमा आएर श्रम स्वीकृति गर्न खोज्दा टोकन नै नपाउने समस्या देखिएकाले टोकन व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी वसन्तबहादुर बोहराले जानकारी दिए । 

पछिल्लो समय श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिन्छ । अनलाइनबाट श्रम स्वीकृति लिन विभागले व्यवस्था गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ । कल्याणकारी कोष र बीमाको रकमसमेत तिरेपछि मात्रै अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।