काठमाडौंः भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विराटनगर भन्सार कार्यालयमा ६ महिना अघि छड्के चेकजाँच गर्न एक टोली विराटनगर पठाए। महानिर्देशक भट्टराईको निर्देशन अनुसार केही कर्मचारी छड्केमा पुगे।
ती कर्मचारीले विराटनगर भन्सार कार्यालयले जाँचपास गरेको केही गाडी नमूनाका रुपमा चेकजाँच गरे। टोलीले चेकजाँच गरेको सबै गाडीमा कैफियत भेटियो।
कैफियतको रिपोर्ट लिएर टिम काठमाडौं फर्कियो। रिपोर्ट महानिर्देशक सामू पुग्यो। महानिर्देशक भट्टराईले विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटालाई बोलाएर सचेत गराए। सापकोटालाई सचेत गराएको १० दिनमै अनुगमनमा जाने कर्मचारीलाई सरुवा भयो।
महानिर्देशक भट्टराईले अर्थमन्त्रालयमा भएको बैठकमा नै आफूलाई कर्मचारीले टेर्न छाडेको राजस्व सचिव रामेश्वर दंगालसँग गुनासो गरेका थिए। दंगालले आफ्नो अधिकार प्रयोग गरेर कारवाही अघि बढाउन भट्टराईलाई निर्देशन दिएका थिए। तर भट्टराईले कारवाही गर्न सकेनन्। बरु उल्टै उनको सरुवा भयो। उनी सरुवा भएपछि विराटनगर भन्सार प्रमुख सापकोटाको तुजुक झन् बढ्यो। भन्सारबाट हुने जाँचपास थप कमजोर बन्यो ।
गत हप्ता राजस्व अनुसन्धान विभागले विराटनगर भन्सार कार्यालयबाटै छुटेको दुई गाडी समात्यो। सो गाडीमा विभागले न्युन बिजिकीकरण भएको पायो। सो गाडी पक्राउ पर्ने बित्तिकै ट्रक छुटाउन सापकोटाले बिचौलिया प्रयोग गरे। बिचौलिया थिए, हेम चौलागाई। उनी तिनै व्यक्ति हुन् जो
दुई महिना अघि राजस्व अनुसन्धानले रसुवामा समातेको गाडी मेरो भन्दै विभाग पुगेका थिए। अनुसन्धान गर्दा न उनको गाडी थियो, न गाडी नै।
विभागले चौलागाई कै नाममा प्रकाउ पुर्जी जारी गरेपछि उनले आफु निर्दोष भएको जिकिर गरेका थिए। स्रोतका अनुसार चौलागाईले नै सापकोटालाई विराटनगर भन्सार लगेका थिए। चौलागाई विगत १५ वर्षदेखी भन्सार जाँचपाँस सम्बन्धि काम गर्दै आएका छन्।
उनी नेकपा माओवादी निकट रहेका काम गर्दै आएका छन्। अर्थमन्त्री जनार्दन शर्मा रहँदा भन्सार कर्मचारीको सरुवामा उनकै वोलवाला चल्थ्यो।चौलागाई कै बलमा सापकोटाले महानिर्देशक सम्मलाई टेर्न छोडेका थिए।
स्रोतले भन्यो( ‘चौलागाईले अर्थमन्त्री शर्मालाई रिझाएर सापकोटालाई विराटनगर भन्सारको जिम्मेवारी दिइएको हो। त्यही भएर चौलागाईले जे भन्यो सापकोटाले त्यही मान्ने गर्छन्।’
चौलागाईको मिलेमतोमा छाडेको सो गाडीलाई विभागले ४४ लाख रुपैयाँ जरीवाना गरेको छ। यो जरीवाना ५० लाख भन्दा माथि भएको भए सापकोटा पनि अनुसन्धानमा तानिन्थे। सापकोटाले जाँचपास भएको गाडीलाई जरीवाना गरिएको जानकारी पाएपनि पत्र भने नआएको स्वीकारे।
सापकोटालाई राजस्व सचिवले हप्काए
गत हप्ता राजस्व सचिव रामेश्वर दंगालको नेतृत्वमा विराटगर, भैरहवा लगायतका भन्सार अनुगमनमा निस्कियो। सो अनुगमन टोलीमा सशस्त्र प्रहरीको एआइजी, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दहाल सहभागी थिए।
सो टीमले राजस्व असुली कमजोर हुँदा तलब खुवाउन पनि मुस्किल भएको भन्दै जाँचपास कडा बनाउन निर्देशन दिएको थियो।
अनुगमनको क्रममा सबैभन्दा बढी विराटनगर भन्सारको गुनासो आएपछि सापकोटालाई कडीकडाउ गरेर निर्देशन दिइएको थियो। राजस्व सचिव दंगालले आफुलाई प्राप्त भएको गुनासो राख्दै गल्ती नसुधारे कारवाही गर्ने चेतावनी दिएका थिए। भन्सार प्रमुख सापकोटाले राजस्व सचिवबाट जाँचपास कडाई गर्न निर्देशन आएको स्वीकार्छन्।
सापकोटाले भने ‘भन्सार मूल्यांकन सन्दर्भ सूची अनुसार नै भएको छ। बुझाईमा केही फरक छ, अहिले सचिवज्यूको निर्देशनपछि कडाई गरिएको छ।’ बीजमाण्डुबाट