काठमाडौंः  नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक जारी छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको १४ औं स्थायी कमिटीको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक –आज)आइतबार पनि जारी रहने बताईएको छ  ।

बैठकमा अध्यक्ष सम्मानित नेता सहित १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।   

बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए । उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन नेताहरुलाई निर्देशन दिए । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरे ।

321822554_521187753320590_8879858249261468143_n

बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ थियो ।   

महासचिव डा वेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गरे । त्यस विषयमा पनि बैठकमा छलफल जारी छ । 

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा ,पार्टी निर्माणको दिशाका बारेमा ,पार्टी निर्माणको आगामी दृष्य, वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण ,संगठन निर्माणका योजना र वामपन्थी एकतासँग  सम्बन्धित विषयमा विविध कोणबाट छलफल भईरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख  खतिवडाले बताए ।  बैठक (आज)आइतबार बिहान ११ बजेबाट पुन सञ्चालन हुने बताईएको छ ।