सङ्खुवासभाः सङ्खुवासभा जिल्लाको खाँदबारीमा जारी तेस्रो पांमा कप फुटबलमा तुम्लिङटार र पांमा फाइनलमा पुगेका छन् । आज भएको सेमीफाइनल खेलमा पांमाले चिसोपानी गुम्बालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । तुम्लिङटारले सङ्खुवासभा युनाइटेड क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलमा पांमासँगको भेट पक्का गरेको हो ।

त्यस्तै, चिसोपानी गुम्वा र पांमाबीचको पहिलो सेमीफाइनल खेलमा पांमाका खेलाडीले ह्याट्रिकसहित ४ गोल गरेका थिए । त्यस्तै, तुम्लिङटार र सङ्खुवासभा युनाइटेड क्लबबीचको दोस्रो सेमीफाइनलमा खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

खेलको पहिलो हाफमा नै सङ्खुवासभा युनाइटेडले १ गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यो निर्णायक हुन सकेन । दोस्रो हाफको अन्तिम २ मिनेटको समयमा तुम्लिङटारले १ गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्याएका थिए । खेल बराबरीको स्थितिमा भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।

पांमा र तुम्लिङटारको यो अपराजित यात्रा हो । पुस ४ गतेबाट शुरु भएको प्रतियोगितामा सङ्खुवासभाका उत्कृट १६ क्लबले सहभागिता जनाएको आयोजक समितिका सदस्य जेबिन राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख १३ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलमा प्रवेश गर्ने दुवै टिमले १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ३–३ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।