काठमाडौंः नेकपा (एकीकृत समाजवादी)को तेस्रो पोलिटब्युरो बैठक  जारी छ । पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताए । वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको साथै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गरे  ।

323379142_899048481117040_5151236079514465679_n1672667761

बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेका छन् ।  वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै खतिवडाले यस सम्बन्धमा छलफल नभएको भन्दै बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको बताए । 

 पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटब्युरो बैठक राखिएको भन्दै उनले परिपक्व निर्णय गरिने बताए  । बैठक मंगलबार(आज) बिहान ११ बजे पुनः बस्ने बताईएको छ  ।

322782294_894926425281360_3175009060255860228_n1672667704