काठमाडौंः काठमाडौं महानगरपालिकाको गतिविधिका कारण स्वरोजगार श्रमिकहरूको रोजिरोटी खोसिएको भन्दै एकीकृत ट्रेड युनियन महासंघले आपत्ति जनाएको छ ।
महासंघले एक प्रेस विज्ञप्ति निकालेर स्वरोजगार श्रमिकहरूमाथि विगत केही दिन देखि काठमाण्डौ महानगरपालिकाले व्यापार व्यवसाय गर्न रोक लगाउने काम गरेको भन्दै अन्य कुनै विकल्प नभएर सडकमा आएर जीवन निर्वाहको लागि स्वरोजगार पेशा अपनाई रहेका श्रमिकहरूलाई विना कुनै विकल्प सडकमै लछार पछार गर्ने, कुटपिट गर्ने, सामान लुट्ने जस्ता गैर जिम्मेवार र अमर्यादित व्यवहार प्रति हाम्रो महासंघको गम्भिर आपत्ती रहेको जनाएको छ ।
महासंघका महासचिव दीपक पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ विगत लामो समय देखि काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा सडकको छेउछाउमा , अस्थायी टहराहरुमा , घुमन्ते स्वरोजगार श्रमिकको रुपमा रहेर व्यापार व्यवसाय गरि दुःखले जिविकोपार्जन गरिरहनु भएका स्वरोजगार श्रमिकहरुमाथि जनप्रतिनिधिको नामबाट निम्नस्तरका निहत्था श्रमिकहरूमाथि भइरहेको यस्तो खालको अर्मयादीत गतिविधिहरू तत्काल रोकी मान्छेको बाच्न पाउने अधिकारको सम्मान गर्न र गैर मानवीय कार्यहरु बन्द गर्न सम्वन्धित पक्ष संग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ शहरलाई व्यवस्थित बनाउनु सवैको दायित्व हो । रहरले कोही पनि धुलो, धुवाँ र अन्य अनेकौ जोखिमहरु मोलेर सडक पेटीमा आउँदैन कित राज्यले उनिहरुलाई रोजगारीको व्यवस्था गर्नु पयो रोजगारी दिन नसक्नेले आफै रोजगारी सृजना गरि रहेका त्यस्ता स्वरोजगार श्रमिकहरूको रोजगारी खोस्नु कति न्यायसंगत छ ? त्यस्ता प्रत्येक श्रमिकलाई महानगरले पञ्जीकृत गर्ने र परिचय पत्र दिने र उक्त परिचय पत्रको आधारमा स्थान र समय तोकेर उनिहरुलाई व्यापार व्यवसाय गर्ने जस्ता उचित विकल्प सहित काम गर्ने वातावरण सिर्जना गर्न जोडदार माग गर्दै सम्बन्धित पक्ष, र सरोकारवाला टेड यूनियनहरु विच वार्ता संवादको माध्यमबाट छिटो भन्दा छिटो समस्याको समाधान गर्न समेत माग गरिएको छ ।