इटहरीः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको दोस्रो बैठक सम्पन्न भएको छ । बुधबारको बैठकले राज्यको दमनकारी नीतिको प्रतिवाद र यातायात क्षेत्रको सुधारका लागि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।
कानुन कार्यान्यनका सन्दर्भमा यातायात श्रमिक र व्यवसायीहरुमाथिको आतंक, सवारी तथा यातायात व्यवस्था ऐन संशोधन तथा यातायात सेवा सञ्चालन, परिचालन र व्यवस्थापनका विषयमा राज्यबाट भएका ढिलासुस्ती र अनियमितताका सन्दर्भमा संगठनले अन्य संगठनहरु र व्यवसायी महासंघसंग समेत समन्वय गर्दै संयुक्त ज्ञापनपत्र बुझाएर देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
संगठनका अध्यक्ष भीमज्वाला राईको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि जिफन्टका अध्यक्ष कमरेड विनोद श्रेष्ठ रहेका थिए । त्यस्तै बैठकमा जिफन्टका महासचिव लक्ष्मण शर्मा अतिथिका रुपमा सहभागी थिए ।
बैठकले आगामी २०८० साल चैतसम्मको वार्षिक योजना तर्जुमा गरेको छ । श्रमिकहरुको मर्यादित कामको लागि संगठन सुदृढ गर्ने योजना अन्तर्गत यस वर्ष २२ हजार सदस्य विस्तार गर्ने, ७० वटा नयाँ कमिटी निर्माण गर्ने, पालिका, पालिकामा यातायात श्रमिकहरुको सुचिकरण अभियान सञ्चालन गर्दै यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने, सडक सुरक्षा सचेतना अभियान देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियान अन्तर्गत सबै प्रदेशहरुमा संगठन सुदृढिकरण अभियान सञ्चालन मार्फत सम्पूर्ण कसमटी तथा संगठनका नेतृत्व कार्यथलो आधारित परिचालन गरिने बैठकको निर्णय रहेको छ ।