धरान/ बास्केटबल खलप्रति रुचि भएका एलिन रसाइली डिपोट उच्च माविको कोर्टमा अभ्यास गर्थे । एसइइ परीक्षा सकेपछि सोही कोर्टमा जिल्ला बास्केटबल संघ र धरान बास्केटबल संघले प्रशिक्षणको आयोजना ग¥यो । उनी पनि एक महिनाको प्रशिक्षणमा सहभागी भए ।
संघले आयोजना गरेको ट्यालेन्ट हन्ट बस्केटबल ट्रेनिङ क्याम्पमा सहभागी हुँदा उनले बास्केटबलको थुप्रै कला सिक्न पाए । त्यसले उनको खेल प्रतिभा अझ निखारिने अवसर पायो । त्यति मात्र होइन, त्यही ट्यालेन्ट हन्टमा उनले देखाएको खेल प्रतिभाले कक्षा ११ र १२ निःशुल्क पढ्ने अवसर पनि जुरायो । संघले सोही क्याम्पबाट १० जना उत्कृष्ट खेलाडी छनोट गरेको थियो । त्यसमा एलिन पनि परे । ती १० मध्ये ६ जनालाई संघको पहलमा धरान–१२ स्थित एम्स एकेडेमीले निःशुल्क छात्रवृत्ति उपलब्ध गराएको छ । कक्षा ११ र १२ मा छात्रवृत्ति पाएपछि अभिभावक पनि हर्षित छन् ।
एम्सले विद्यार्थी खेलाडीहरू आस्मा भुजेल, यमन राई, प्रतिषा ओझा, आस्था राई, एलिन रसाइली र अर्जुन कटुवाललाई छात्रवृत्ति दिएको हो । सम्झौता पत्रमा धरान बास्केटबल संघका अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष सुरज लामा, एम्सका प्रिन्सिपल मित्र तामाङ, प्रशासकीय अधिकृत होमनाथ बराल खेलाडीका अभिभावक र खेलाडीले पनि हस्ताक्षर गरेका छन् । उत्कृष्ट १० मध्ये बाँकी ४ जनालाई पनि अन्य कलेजमा छात्रवृत्तिको लागि पहल भइरहेको धरान बास्केटबल संघका अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष सुरज लामाले जानकारी दिए । ‘खेलाडीले अनुशासनमा रहेर कलेज र संघको नीति, नियम पालना गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बास्केटबलको गतिविधिमा भाग लिँदा पनि संघ र कलेजसँग समन्वय गरेर मात्र लिन पाउनेछ,’ सम्झौतामा उल्लेख गरिएको बुँदाबारे लामाले भने, ‘विद्यार्थी खेलाडीले सम्झौता उल्लंघन गरेमा छात्रवृत्तिको सुविधा स्वतः खारेज हुन्छ ।’
बास्केटबल संघका जिल्ला अध्यक्ष नारायण सुवेदीले संघको पहलमा धरानमा विगत १० वर्षदेखि नै खेलाडीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको भए पनि यसपाली त्रिपक्षीय सम्झौता गरेर पूर्ण छात्रवृत्ति दिएको बताए । संघको उद्देश्य बास्केटबल खेलाडी अनुशासित, शिक्षित र स्वस्थ्य हुनुपर्छ भन्ने उनको भनाइ थियो । एम्स मेघा कलेजका प्रमुख हेमन्त भण्डारीले सम्झौता पत्र ११ र १२ दुवै कक्षामा लागु हुने गरी भएको जानकारी दिए । साथै, उनले बास्केटबल संघ सँगको सहकार्यमा यसअघि पनि ५ जना बास्केटबल खेलाडीलाई छात्रवृत्ति उपलब्ध गराएर अध्ययन गरिरहेको पनि खुलाए ।
एम्सका प्रिन्सिपल मित्र तामाङले विद्यार्थीहरुको समग्र व्यक्तित्व, क्षमता विकासलाई मध्यनजर गर्दै अतिरिक्त क्रियाकलापलाई कलेजले प्राथमिकता दिएकाले बास्केटबल खेलाडीलाई छात्रवृत्ति दिएको बताए । ‘पढाइमा मात्र होइन, हामी अतिरिक्त क्रियाकलापमा पनि उतिकै ध्यान दिन्छौं । विद्यार्थीको समग्र व्यक्तित्व, प्रतिभा विकासमा पनि सक्रिय हुन्छांै,’ प्रिन्सिपल तामाङले भने, ‘बास्केटबल खेलाडी विद्यार्थीले आफ्नो शैक्षिक योग्यतासँगै खेल प्रतिभा पनि अघि बढाउनेछन्, र आफूसँगै कलेजको नाम पनि चम्काउनेछन् भन्ने अपेक्षा राखेका छौं ।’