काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अहिलेको अवस्थामा सरकारमा सहभागी नहुने बताएका छन् ।
नेपाल नेवा राष्ट्रिय संघ समाजवादीको प्रथम अधिवेशनको भक्तपुरमा आयोजित कार्यक्रमलाई शनिवार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले अबको ५ वर्ष पार्टी निर्माणमा लाग्नुपर्ने र सरकार सत्ताको लागि मात्र मरिहत्ते गर्नु नगर्ने बताएका हुन् ।
नेपाली काङ्ग्रेससँगको गठबन्धन टुटेर नयाँ राजनैतिक समीकरण बनेपछि बसेको पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट सरकारमा अहिले नै सहभागी हुने निर्णय भइनसकेको उनले बताए । अध्यक्ष नेपालले भने–‘हामीले देशभरका जिल्ला अध्यक्ष र ईन्चार्जहरुसंग जुम मिटिङ गरेका थियौं । त्यस मिटिङमा साथिहरुले सरकारमा जान हतार गर्नु भन्दा पनि पार्टी निर्माणकार्यमा लाग्नु पर्ने सुझाव आएको छ , हामी सोही अनुसार अगाडि बढ्छौ ।’
पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत दिने कि नदिने सरकारको नीति तथा कार्यक्रमका आधारमा निर्णय गरिने भन्दै अध्यक्ष नेपालले वामपन्थीहरूको मोर्चा बनाउन विभिन्न पार्टी र नेताहरुसँग छलफल चलिरहेको बताए ।
हामी मोर्चा बनाएर जाँदा बलियो हुने छौ । त्यस पछि कसलाई र कुन पार्टीलाई समर्थन गरेर अगाडि बढ्ने सोच्न सकिने उनले खुलासा गरे ।
नेकपा ( एकीकृत समाजवादी) केन्द्रीय सचिव नागेन्द्र चौधरी, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष पासाङ शेर्पा, नेकपा (एकीकृत समाजवादी) काठमाडौंका नेता बसन्त मानन्धर, जानुका श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ,नेकपा (एकीकृत समाजवादी) भक्तपुर सह इन्चार्ज भवानी खड्का लगायतले आआफ्नो मन्तव्य राख्दै नेपाल नेवा राष्ट्रिय संघ समाजवादीको अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए कार्यक्रमको सभापतित्व माइलाबाबु देउलाको सभापतित्वमा भएको थियो।