इटहरीः पछिल्लो समय बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आरक्षणमा राखिएको शेयर मात्रै निष्काशन भएको अवस्थामा माघ तीन गतेबाट सर्वसाधारणको लागि आईपिओ निष्काशन हुने भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कालिन्चोकले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ अनि बाँकी सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका निस्कासन हुन लागेको हो ।
कालिन्चोक लिमिटेडको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा माघ ६ गते हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म थप गरिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सकिनेछ।