काठमाडौँः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पारेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल चोकको निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने पनि बताए ।
यसअघि, नै गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई आफ्नो चाहना पूरा गर्न राजनीतिज्ञ तथा अन्य माथिल्लो निकायमा भनसुनका लागि गए कारबाही हुने स्पष्ट निर्देशन दिइसकेका छन् ।
सो समारोहमा गृहमन्त्री लामिछानेले सङ्गठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निभाउन पनि आग्रह गरे ।
उनले विगतमा भएका कमजोरीलाई सुधार गर्दै प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङ्गरुको कठ्याङ्ग्रिँदो चिसोसँगै तैनाथ अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर रहेको बताउदै क्षमताले भ्याएसम्म पूर्वाधार विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री लामिछानेले भने, “अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत सेवा गर्नु, खबरदारी र ड्युटी गर्नु देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।”
उनले मनमा जहिले पनि हामी थोरै छौँ तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोहीअनुसार कार्यसम्पादन गर्न पनि सुझाव दिए ।
गृहमन्त्री लामिछानेले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत क्रियाकलाप गर्ने सधैँ डराओस् र कहिल्यै शिर नउठाओस् भन्ने चाहना व्यक्त गरे ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान् बनाइ राज्यप्रदत्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए ।
उनले सशस्त्र प्रहरी नागरिकको सेवा, सुरक्षा, सहयोग र विपद्मा परेकाहरूको उद्धार तथा सिमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको उल्लेख गरे ।
आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतिमा सङ्गठनलाई चल्ने अवस्था सिर्जनाका लागि पारदर्शिता र जबाफदेहितासहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, युएन मिसन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरूलाई न्यायसङ्गत वितरणको प्रक्रिया थालनी गरिएको पनि उनले जानकारी दिए ।
महानिरीक्षक अर्यालले सङ्गठनमा सुरुआत गरिएका नीतिगत, संस्थागत एवं संरचनागत सुधारका योजनाहरू गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।
उनले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६ वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवा अवधि पुग्दासमेत सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भई १३ वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था रहेको जानकारी पनि गराए ।
उनले वृत्ति विकासका साथै जुनियर अधिकृतको १८ वर्ष, जवानको १६ वर्ष पेन्सन अवधि निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सो क्रममा गृहमन्त्री लामिछानेले सशस्त्र प्रहरीको केन्द्रीय आदेश कक्ष, अनुगम सेल, केन्द्रीय सङ्ग्रहालय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामग्री अवलोकन तथा गोताखोर टोलीसँग उद्धारका विषयमा जानकारी लिएका थिए । रासस