काठमाडौंः आउटसोर्सिङ श्रमिक संगठन नेपालका ५५ जना नेता कार्यकर्ता  नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनमा  समाहित गरेका छन ।

आज काठमाडौंमा भएको कार्यक्रममा आउटसोर्सिङ श्रमिक संगठन नेपालका अध्यक्ष गोविन्द प्रसाद सापकोटाको  नेतृत्वमा संगठनमा आवद्ध नेता कार्यकर्ताको टिम नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनमा सम्मिलित भएका हुन ।

 कार्यक्रममा सुरक्षा क्षेत्र युनियन परिषदका केन्द्रीय अध्यक्ष विष्णु लम्साल लगायतको टिमले उक्त कमिटीलाई खादा र टीका लगाएर स्वागत गर्नु भएको थियो ।  

उक्त संगठन प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले भने–‘आन्दोलनबाट आएको ट्रेड युनियनले  मजदुरको पक्षमा काम गर्छ भन्ने आम मान्यता थियो तर त्यसले पनि पूँजीवादीको पक्षपोषण  गरेको पाइयो ।’ लम्सालले भने–‘ यो भनेको विचारको स्खलन हो । आफ्नो विचार र सिद्धान्तबाट विचलित हुनु भनेको मालिक सामु आत्मसमर्पण गर्नु बराबर हो ।’ आउटसोर्सिङ श्रमिक संगठन विचार मिल्ने संगठनमा प्रवेश गरेकोमा धन्यवाद दिदै नयाँ जिम्मेवारी साथ अगाडि बढ्न आग्रह गर्दै  उनले शुभकामना दिएका थिए ।

यस्तै सुरक्षा क्षेत्र युनियन परिषदका इन्चार्ज प्रेम बहादुर कार्कीले आगामी दिनमा कुनै पनि क्षेत्रमा काम गर्ने श्रमिकलाई परेको पिरमर्काको जिम्मा संगठनले लिने बताए  । 

उनले भने–‘हामी श्रमिक वर्गको हित र संरक्षणको लागि सधैं पहल कदमी लिने छौ र जिम्मेवार भएर हाम्रा माग सम्बोधन गर्न र गराउन सम्बन्धित पक्षलाई घच्घच्याउने छौ।’

सुरक्षा क्षेत्र युनियन परिषदका केन्द्रीय इन्चार्ज  वेद प्रसाद हुमागाईंले  सञ्चालन गर्नु भएको कार्यक्रममा आउटसोर्सिङ श्रमिक संगठनका अध्यक्ष गोविन्द प्रसाद सापकोटाले यश संगठनमा प्रवेश गर्नुको कारण र औचित्य प्रस्ट पारेका थिए ।