काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार(आज) प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने भएका  हुन् ।   २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रधानमन्त्री प्रचण्डले आफू विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीमा उनले विश्वासको मत प्राप्त गर्ने कुरामा आफू विश्वस्त मात्रै नभई सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिने बताए । 

उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल तथा स्वतन्त्र सांसदहरूसँग विश्वासको मत दिन आग्रह गरेका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी विश्वासको मत दिन आग्रह गरेका छन् । 

धुम्बाराहीस्थित सभापति देउवाको निवासमै सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभामा विश्वासको मत दिन आग्रह गरेका हुन् । जवाफमा सभापति देउवाले मङ्गलबार बिहान पार्टीको संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न आउनुभएको छलफलमा सहभागी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । सभापति देउवाले मङ्गलबार बिहान साथीहरूसँग छलफल गरेर निर्णय लिने प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिनुभएको उनले बताए ।