इटहरीः ‘क’ वर्गको वाणिज्य बैँकहरु मेगा बैँक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैँक लिमिटेड एक अर्कामा गाभिएर बुधबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । 

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ बुधबारबाट एकीकृत कारोबार सुरु गरेका हुन । 

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका थिए  । 

दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्बीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । बैँकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैक रहेको छ । बैँकको  नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन्। 

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४।१२ अर्ब रूपैयाँ, कुल पूँजी ५८ अर्ब रूपैयाँभन्दा बढी र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रूपैयाँ, त्यसैगरी कुल निक्षेप ३६०।२ अर्ब रूपैयाँ तथा कर्जा लगानी ३२९।०६ अर्ब रूपैयाँ गरी कुल ३० लाख ग्राहकहरुलाई सेवा दिएको छ ।

त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ ।