सङ्खुवासभाः तेस्रो पांमा कपको उपाधि आयोजक पांमा सामुदायिक सेवा क्लबले हात परेको छ ।

आइतबार भएको फाइनल खेलमा तुम्लिङटार स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पांमाले उपाधि हात पारेको हो ।

सङ्घीय सरकारका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा भएको फाइनल खेलमा पहिलो हाफको छैटौँ मिनेटमा पांमाका पर्शु राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि नै राईले दोस्रो गोल गर्दै खेललाई २–० को स्थितिमा पु¥याएका थिए । यता, दोस्रो हाफको १३ औँ मिनेटमा तुम्लिङटारका दिनेश राईले १ गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त भएन ।

पांमाले सेमीफाइनलमा चिसोपानी गुम्बालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । तुम्लिङटारले सङ्खुवासभा युनाइटेड क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

उपाधि हात पारेसँगै आयोजक पांमा सामुदायिक सेवा क्लबले नगद १ लाख १३ हजारसहित कप मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको तुम्लिङटार स्पोर्टिङ क्लबले नगद ५५ हजारसहित कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै, सेमीफाइनल प्रवेश गर्ने सङ्खुवासभा युनाइटेड क्लब र चिसोपानी गुम्बाले नगद १५÷१५ हजार हात पारेका छन् ।

खेलमा उत्कृष्ट खेलाडी घोषित हुँदै पांमाका मोहन गुरुङले नगद ५ हजारसहित ट्रफी तथा मेडल हात पारेका छन् । खेलमा सर्वाधिक गोलकर्ता पांमाकै सनम भुजेल र उत्कृष्ट गोलरक्षक तुम्लिङटारका सुदीप चौधरी घोषित भएका छन् । उनीहरूले जनही नगद ३÷३ हजारसहित ट्रफी तथा मेडल प्राप्त गरेका छन् ।

गत ४ गतेबाट शुरु भएको प्रतियोगितामा जिल्लाका उत्कृष्ट १६ टिमको सहभागिता रहेको थियो ।

pangma 3