इटहरीः रोजगारीका लागि  भारतको महाराष्ट्र गएका कैलालीका एक युवकको बिभत्स हत्या भएको छ । 

महाराष्ट्रको  आलीबागमा बस्ने कैलालीको लम्कीचुहा नगरपालिका ‐६ बावनपुर घर भएका १८ वर्षीय कमल विकको हत्या भएको हो । विकको बावनपुरमै बस्ने उनका साथीहरु मिलेर हत्या गरेको रहस्य खुलेको छ ।  

विकको पौष २६ गते  विभत्स तरिकाले हत्या गरिएको आमा  पार्वती कामीले बताएकी छन्  ।  बावनपुरमा घरभई महाराष्ट्रको आलीबागमा बस्ने सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीले आफ्ना छोराको हत्या गरेको आरोप आमा पार्वतीको छ । 

पावर्तीले कमलको हत्यामा संलग्नका नाममा किटानी जाहेरीसहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएकी छन् ।

हत्यामा संलग्नताको आरोप लागेका टोपु विक र मनोज विक दुई जना सहोदर दाजुभाइ हुन् । छोराको हत्या भएको खबर सुनेपछि महाराष्ट्र पगेकी मृतककी आमा पार्वतीले प्रहरीमा जाहेरी दिएका प्रमाणित गरेकी छन्  ।