इटहरीः लगातारको प्रयास पछि नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छादारलाई हराउन सफल भएकी नेकपा एमालेकी नेतृ भगवती चौधरी दोस्रो पटक मन्त्री बन्न सफल भएकी छन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट लगातार २ पटकको हार व्यहोरेकी चौधरीले यसपाला भने गच्छादारलाई हराउन सफल भएकी थिइन ।
२०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी त्यसबेला वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी उनलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले महिला तथा बालबालिका मन्त्री बनाएको छ ।
गच्छदारको सातौं पटक सांसद बन्ने सपना तुहाउँदै मन्त्री बनेकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज छन् । ५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् ।
सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान हालको गढी गाउँपालिका हो । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी चौधरी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य, ०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन ।