प्रकाश बन्जारा 

इटहरीः संघीय सरकारमा ६ जना महिलाले मन्त्रालय सम्हाल्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको मन्त्री मण्डलमा नेकपा एमालेकी ज्वाला कुमारी साह यसअघि नै मन्त्री नियुक्त भइसकेकी थिइन भने मंगलबार थप पाँच जना महिला मन्त्री नियुक्त भएका छन् ।

मंगलबार मन्त्री नियुक्त भएकामा नेकपा माओवादीकी रेखा शर्मा छिन । मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आएकी शर्मा तेस्रोपटक सङ्घीय संसद्मा बनेकी हुन । प्रभावसाली नेताको रुपमा लिइएका  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उनी सदन प्रवेश गरेकी शर्मा दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की उम्मेद्वार थिइन । शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी हुन भने उनका  निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का महासचिव पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेका थिए । 

 यता नेकपा एमालेबाट मन्त्री बनेकी ज्वाला कुमारी साह  माओवादीबाट राजनीति यात्रा सुरु गरेकी थिइन् । उनी ०७४ सालको चुनावमा सोही क्षेत्रबाट मधेश प्रदेश सभामा माओवादीबाटै निर्वाचित भएकी साह नेकपा विभाजन हुँदा उनी माओवादी छाडेर एमाले रोजिन् । जसका कारण उनको सांसद पद गुमेको थियो । 

सांसद पदको समेत परवाह नगरी एमाले रोजेकी उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारमा कृषिमन्त्री बनाएर पुरस्कृत गरेका थिए । साह १९ दिनसम्म मात्र मन्त्री बनेकी थिइन् । साह नेकपा एमालेको मधेश प्रदेशको सह–इन्चार्ज पनि हुन् । उनी संविधानसभामा पनि माओवादीबाट समानुपातिक सांसद बनेर राज्यमन्त्री भएकी थिइन् । हाल आएर पुष्पकमल दाहाल नेतृत्वको सरकारमा साहले कृषि मन्त्रालय सम्हालेकी छन् । जसपाका रामबाबु कुमार यादवलाई हराएर सांसद बनेकी साहले २० हजार २५१ मत पाएकी थिइन भने उनका प्रतिद्धन्द्धी रामबाबु कुमार यादवले १७ हजार २७९ मत पाएका थिए । साह बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुन । 

यस्तै अर्घाखाँचीबाट समानुपातिक सांसद बनेकी सुशिला श्रीपाली समेत नेकपा माओवादीबाट मन्त्री बनेकी छन् ।  श्रीपालीको भागमा पर्यटन राज्यमन्त्री परेको छ । त्यसो त पर्यटन मन्त्री समेत आफ्नै पार्टीका सुदन किराँती भएकाले उनलाई कामगर्न सहजै पर्ने अनुमान गरिएको छ । 

यस्तै ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की स्वास्थ्य राज्य मन्त्री बनेकी छन् । स्वास्थ्य मन्त्री बन्ने चर्चा गरिएकी तोसिमालाई अन्तत राज्यमन्त्रीमा राखिएको छ । नेकपा एमालेका पदम गिरी स्वास्थ्य मन्त्री छन् । ललितपुर क्षेत्र नम्बर ३ बाट 

 नेकपा एमालेका अमृत खड्का र माओवादी नेतृ पम्फा भुसाललाई समेत जितेकी तोसिमाले ३१ ह्जार १३६ मत पाएकी थिइन भने नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका थिए ।