अष्ट्रेलियाः  कामबाट फर्किदै गर्दा अष्ट्रेलियाको न्यु साउथ वेल्सको न्यु क्यासलमा दुई जना नेपाली युवामाथी छुरा प्रहार भएको छ । उनिहरुलाई सो स्थानमा दुई जना पुरुष र एक महिलाको समूहले आक्रमण गरेका हुन ।

बुधबार राती छुरा प्रहार गरिएका एक युवाको घाँटीमा र एक जनाको पाखुरामा चोट लागेको पाइएको छ । दुबै घाइते युवाको अवस्था सुधारोन्मुख रहेको र स्थानीय जोन हन्टर अस्पतालमा उपचार भैरहेको छ । घाइते युवालाई भेट्न आफन्तहरु सिड्नीबाट न्यु क्यासल पुगेका छन् । 

घाईते युवा मध्ये एक २५ र एक २८ वर्षीया रहेको बताइएको छ । दुई नेपाली युवाहरु एक भारतीय रेस्टुरेन्टमा सेफका रुपमा काम गर्ने गरेको पाइएको छ । आक्रमणकारीले २५ वर्षीया घाइतेको पर्स समेत लुटेर लगेका छन् । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन् । 

घटनास्थललाई नियन्त्रणमा लिएर यतिबेला स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको छ । घटनास्थलको विशेषज्ञ फरेन्सिक प्रहरीले जाँच गरेका छन भने सीसी टीभी फुटेजको खोजीमा अनुसन्धान अधिकारीहरु जुटेका छन् ।