तौलिहवाः राजा शुद्धोधनको राजदरबार एवं सिद्धार्थ गौतमले जीवनकालका प्रारम्भिक २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा थप मौर्यकालीन पुरातात्त्विक सामग्री फेलापरेका छन्। तिलौराकोटको मध्य भागमा रहेको मौर्यकालीन पोखरीको उत्खननमा आहात मुद्रा (पञ्च मार्क मुद्रा)समेत भेटिएको छ ।  सो पोखरीको उत्खनन विगतदेखि नै भए पनि अहिलेसम्म पञ्चमार्क मुद्रा त्यहाँ भेटिएको थिएन तर अन्य स्थानमा भने फेलापरेको थियो । 

पोखरीको सन् २०१४ मा युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा पुरातत्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोषलगायतको टोलीले भू–भौतिक सर्वेक्षण गरेको थियो। सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३० गुणा ३० मिटर क्षेत्रफलको एउटा संरचना फेलापरेको थियो। उत्खननबाट नगरभित्र इँटाको गारो लगाइएको ठूलो पोखरी भेटिएको हो।

सो क्षेत्रको सन् २०१५ मा उत्खनन गर्दा जोगिएका २६ तहका इँटा भेटिएको र ती इँटाका तहहरू क्रम मिलाएर राखिएको पुरातत्वविद्ले बताएका छन्। पोखरीका कुनैकुनै इँटा ४५ सेन्टिमिटर लम्बाइका थिए। भेटिएको संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा सो पोखरी मौर्यकालीन समयमा बनेको पुष्टि भएको पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताए ।

पोखरीको उत्खननमा तामाको अभिलेखसहितका मुद्रा, विभिन्न कालका नारीका मूर्ति, जनावरका प्रतिमा, माला, चुरा, विभिन्न कालका भाँडा, काला चम्किला माटाका भाँडाका टुक्रा, खैरा माटाका भाँडाका टुक्रा, सुंगाकालीन नारी मूर्ति, पाषाण तीर र लोहोरो–सिलौटोलगायतका महत्वपूर्ण वस्तु भेटिएको पुरातत्व अधिकृत ज्ञवालीले बताए । 

गत वर्ष दक्षिणतर्फ रहेको पर्खालको करिब १२ मिटरमा उत्खनन गरेकोमा यस वर्ष बाँकी रहेको ११ मिटर उत्खनन गरिएको उनले बताए ।  उत्खनन गर्ने क्रममा दक्षिणतर्फको पर्खालको लम्बाइ २७ मिटर रहेको पाइएको अधिकृत ज्ञवालीले बताए ।  विगतमा पोखरीको उत्खनन गर्दा २६ तहको इँटा भेटिएका थिए भने यस वर्ष गरिएको अध्ययन अनुसन्धानबाट यो पोखरी विभिन्न समयमा बनेको उनले बताएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।