काठमाडौंः  त्रिचन्द्र कलेजमा विएसी अध्ययन गर्दै गरेका सविन फुँयाल थप अध्ययनका लागि जर्मन जाने तयारीमा थिए । पढाइमा अब्बल उनी कलेजमा साथिहरुको प्यारो थिए ।

 सबैलाई सहयोग गर्ने, जे काम गर्न पनि अघि सर्ने र कलेजमा हुने कार्यक्रममा सधैं सक्रिय रहन्थे । बुवा श्रीहरी फुँयाल र आमा गायत्री फुँयालको कान्छा छोरा हुन् सविन ।

 विदेश गएर परिवारमा सुःख दिन चाहन्थे । घरको काम र खेतीपातीमा पनि सधाउँथे । तर अब सविनको जर्मन जाने सपना साकार हुने छैन ।  पाचमानेका सविन फुँयाल आइतबार साँझ बालाजु जरङखुबाट खाजा खाएर साथीहरूसँग छुटेका थिए । 

 घर जान हिँंडेका सविनलाई पिछा गर्दै आइरहेको टिपरले तारकेश्वर–६ चिसापानीमा ठक्कर दियो । सामान्य घाइते उनलाई सोही क्षेत्रका २ जना टिपरका चालक र सहचालक मिलेर घिसार्दै बालुवा गिटी थुपार्ने डिपोमा र्पुयाएर हत्या गरेको आफन्तको दाबी छ । 

सविनका छिमेकी बलराम पुडासैनीका अनुसार आइतबार राति ९ बजे महालक्ष्मी एन्ड बलामी सप्लायर्सको बा ५ ख ६७७९ नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरी हत्या गरेको पुडासैनीले बताए । 

हत्या गर्ने नियतले नै बालाजुदेखि टिपरले पछ्याएको थियो,’ पुडासैनीले भने,‘ ठक्कर दिएर लडेका सविन बालुवा डिपोमा मृत भेटिएका थिए । उनको शरीरभरि चोटैचोट रहेको आफन्तको भनाइ छ। घाँटीमा धारिलो हतियार प्रहार गरेको दाग लागेको तर, सविनले चढ्ने गरेको बाइकमा अलिकति पनि चोट नभएको आफन्त बताउँछन् । 

प्रहरीले जाहेरी दर्ता लिनै ४ दिन लगाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनाको सम्बन्धमा बिहीबार जाहेरी दर्ता भएको छ । सविन त्रिचन्द्र कलेजमा बीएससीका विद्यार्थी हुन् ।  उनी थप अध्ययनका लागि जर्मनी जाने तयारीमा थिए। पढाइमा अब्बल उनी कलेजमा साथीहरूका पनि प्रिय थिए।