इटहरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगरसमितिले आयोजना गरेको प्याब्सन खेलकुद सप्ताह सोमबार सम्पन्न भएको छ ।
सोमबार फुटबल, भलिबल र क्रिकेटका फाइनल खेल सम्पन्न भएसँगै खेलकुद सप्ताह समापन गरिएको प्रचारप्रसार संयोजक राजेश श्रेष्ठले जानकारी दिए । १ साताअघि शुरु भएको खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई समापनका अवसरमा पुरस्कृत गरियो ।
सोमबार भएको फुटबलको फाइनलमा हिमशिखर इङ्लिस स्कुल पहिलो हुँदा लिटिल फ्लावर्स स्कुल दोस्रो र सुनसरी सेन्ट जेभियर्स तेस्रो भए । छात्र भलिबलमा हाम्रो इङ्लिस बोर्डिङ पहिलो, हिमशिखर इङ्लिस स्कूल दोस्रो र पूर्वाञ्चल एकेडेमी तेस्रो भए । यस्तै छात्रा भलिबलतर्फ हाम्रो इङ्लिस पहिलो, सुनसरी क्रिस्टल एकेडेमी दोस्रो र लिटिल फ्लावर्स तेस्रो भए ।
क्रिकेटमा कोशी सेन्ट जेम्स पहिलो, नेपाल डिभिएम स्कुल दोस्रो र लिटिल फ्लावर्स तेस्रो भए । विजयी विद्यालय तथा विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, नगर विद्यालय निरीक्षक सेमन्त गौतम, सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी, प्याब्सन सुनसरी सल्लाहकार जीवप्रसाद गुरागाईं र प्याब्सन इटहरी अध्यक्ष सुवर्णबहादुर थापाले पुरस्कार वितरण गरे ।
खेल सप्ताहमा इटहरभित्रका संस्थागत विद्यालय सहभागी थिए । आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने खेलकुद सप्ताहका संयोजक एवम् प्याब्सन इटहरी नगर उपाध्यक्ष पुण्यप्रसाद सापकोटाले बताए ।