रिकेश विश्वकर्मा

धरानः बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको २३ औँ संस्करण शनिवार(आज) देखी सुरु हुँदैछ । धरान रंगशालमा उद्घाटन समारोह लगायत खेलका लागि सबै तयारी पुरा भएको  शुक्रवार ‘ग्राउण्ड जिरो’मै पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार यसपालि ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका बालबालिका फुटबल हेर्न आएमा निःशुल्क प्रवेश दिइने छ । 

बुढासुब्बा फुटबलमा नेपाल प्रहरीको ठुलो योगदान रहेकाले धरान स्थित प्रहरी विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

धरानका अन्य विद्यालयहरूका विद्यार्थीलाई पनि विशेष छुटमा प्रवेश दिइने बारेमा छलफल भइरहेको उनले बताए । विद्यार्थीहरू नै भविष्यका खेल प्रतिभा भएकाले उनीहरूलाई गोल्डकप हेर्ने सहज स्थिति बनाउने तर्फ क्लबको ध्यानाकर्षण भएको उनको भनाई छ ।

२३ औँ संस्करणको उद्घाटन समारोह यसपालि आकर्षक हुने बताउँदै उनले भने ‘यसपालि बेलायती राजदूतावासको सहयोगमा ब्रिटिस गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले रङ्गशालामा बिशेष प्रस्तुती दिएर भव्यता प्रदान गर्नेछ ।’ बेलायती राजकीय समारोहहरूमा प्रस्तुति हुने व्याग पाइपर बाजाको व्रिगेण्ड ब्यान्ड प्रतिष्ठित सरकारी ब्यान्ड हो । 

उद्घाटन समारोहका प्रमुख अतिथि यसपालि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ रहने छन्। मेयर साम्पाङले धरानलाई खेलकुदको सहर बनाउन उपमहानगरपालिकाले उदार नीति अवलम्बन गरेकोले त्यसको सम्मानका लागि मेयर सम्पाङलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको हो ।

received_208247831746917

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र युके एफसी भारतबीच हुनेछ । यसपालि गोल्डकपमा आयोजक धरान फुटबल क्लब, युके एफसी भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा र एन्फा मोरङ सहित ८ टिम बिच प्रतिस्पर्धा हुनेछ ।

गोल्डकपको गेट टिकट दर पुरानै राखिएको छ । फुटबलप्रेमी सर्वसाधारण लाई प्रतियोगिता हेर्न सहज होस भनी टिकट दर बढाइएको छैन। उद्घाटनको अवसर देखी क्वाटर फाइनल सम्म टिकट दर १ सय राखिएको छ । सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैयाँ निर्धारण गरिएको उनले बताए । 

गोल्डकपमा यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएको छ । उक्त एप्स मार्फत अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी दिइने क्लबले जनाएको छ । गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

उत्कृष्ट खेलाडीले नगद १ लाख र  प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ ।  प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने अध्यक्ष राईले जानकारी दिए ।