काठमाडौंः ह्वाइट वाटर नेपाल र फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल ’बी’ ले ७ औं राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ ।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा भएको प्रतियोगितामा पुरुषतर्फ ह्वाइट वाटर र महिलातर्फ फ्रिडम कायक च्याम्पियन बनेका हुन् ।

र्याफ्टिङ च्याम्पियनसिप अन्तर्गत चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा विजयी हुँदै ह्वाइट वाटर र फ्रिडमले उपाधि जितेको हो ।

ह्वाइट वाटरले स्प्रीन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३५०  पूर्णाङ्क) र डाउन रिभर (३५० पूर्णाङ्क) मा शतप्रतिशत अंकका साथ कुल १ हजार अंक प्राप्त गर्यो ।

महिलातर्फ फ्रिडमले स्प्रीन्ट (९२ पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३५० पूर्णाङ्क) र डाउन रिभर (३५० पूर्णाङ्क) मा कुल ९९२ अंक प्राप्त गर्यो ।

पुरुषमा नेपाल कायक क्लब काठमाडौं दोस्रो र प्याडल नेपाल पोखरा ’ए’ तेस्रो भयो । महिलामा भोटेकोसी एडभेन्चर क्लब दोस्रो र फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल ’ए’ ले तेस्रो स्थान हासिल गर्यो ।

११ औं राष्ट्रिय कायक स्लालमको पुरुषतर्फ गणेश गुरुङ र महिलातर्फ सुधा राई च्याम्पियन बने । हरेक विधाका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरे ।  

विजेता खेलाडीलाई प्रमुख अतिथि सघिंय प्रतिनिधि सभा सांसद माधव सापकोटा तथा नेपाल राफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कृत गरे ।