प्रकाश बन्जारा 

इटहरीः  १३ औँ सस्करणसम्म पुगेको इटहरीकै गौरव मानिएको इटहरी गोल्डकपलाई स्थानीय सरकारले नै कम महत्व दिएको गुनासो बढेको छ । 

इटहरीको राष्ट्रिय जागृती क्लवले आयोजना गर्ने इटहरी गोल्डकपको तेह्रौँ संस्करण आयोजनाको तिव्र तयारी भइरहँदा स्थानीय सरकारबाट सोचेजस्तो सहयोग नपाएको गुनासो बढेको हो । 

खेलकुदलाई महत्वका साथ हेरेर छिमेकी नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले बजेट छुट्टाइरहँदा इटहरी सरकारले भने नियमित झैँ झिनो रकमान्तर गरेको र थप चासो समेत नदेखाएको गोल्डकप आयोजक समितिका संयोजक अनुरोध थापा बताउँछन् ।  

इटहरीमा रहेको प्रदेश १ कै नमुना अर्थात प्रादेशिक रंगशालाको हविगत रहँदा समेत स्थानीय सरकारले त्यसको भौतिक संरचना मर्मत सम्भार तथा सुरक्षाका लागि एक जना सुरक्षा गार्ड समेत राख्न नसकेको अवस्थामा बेला गोल्डकपको मिती नजिकिँदै जाँदा रकमान्तरको गुनासो थपिएको हो ।  

इटहरी उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा इटहरी गोल्डकप आयोजना गर्नका लागि भनेर ५ लाख रुपैँया विनियोजन गरेको छ । तर आफ्नै शहरमा हुने र इटहरीको इतिहास बोकेको गोल्डकपको आयोजना हुँदा विनियोजित रकम साह्रै कम भएको गुनासो आएको हो । 

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ छिमेकी पालिकाहरुले समेत भटाभट गोल्डकपहरु आयोजना गरीरहेको बेला इटहरी गोल्डकप पनि आगामी चैत ४ गते देखि चैत ११ गते सम्म आयोजना गर्ने मिती सार्वजनिक भइसकेको छ तर अन्तराष्ट्रिय आमन्त्रण सहित इटहरीको साख जोगाउने प्रतियोगिता सन्चालन गर्नुपर्ने, भारत, क्यामरोन र नेपालकै पनि चार वटा ए डिभिजन खेलेका टिम सहभागी गर्ने हुँदा खर्च धान्न मुस्किल गर्ने आयोजक बताउँछन् । 

इटहरी गोल्डकपले आगामी १३ औँ संस्करणको लागि पुरस्कार राशी समेत विजेतालाई १० लाख र रनर अपलाई ५ लाख दिने भनेर घोषणा गरीसकेका छन् । त्यसबाहेक उत्कृष्ट खेलाडीलाई यामाहाको स्कुटर दिने र साथै हरेक विद्यामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार दिने बताएका छन् । 

अन्तराष्ट्रिय सहितका टिमलाई इटहरी शहरमा ल्याने देखि लिएर बस्ने खाने , होटलबाट रंंगशाला ल्याउने पुर्याउने र टिएडिए सहितको भत्ता व्यवस्थापन गर्नुपर्ने भएकाले गोल्डकप निकै खर्चिलो हुने गर्दछ । इटहरीमा आयोजना हुने खेलकुदले खेलपर्यटनलाई बढावा दिनुका साथै राजश्वलाई समेत बढाईरहेको हुन्छ त्यसैले पनि इटहरीमा आयोजना हुने खेललाई इटहरी सरकारले प्राथमिकता दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।  

‘कम्तिमा प्रथम पुरस्कार इटहरी सरकारबाट हुनुपरो भनेर हामीले नगरप्रमुखको ध्यानाकर्षण गराएका छौँ ’गोल्डकप आयोजक समितिका संयोजक अनुरोध थापा भन्छन् । 

अघिल्लो पाँच बर्ष स्थानीय सरकारले रंगशालाको भौतिक निर्माण तथा मर्मत सम्भार केहीका लागि पनि वास्ता नगरेको बताउने थापा नयाँ मेयरबाट भने सहयोग हुनेमा आफुहरु आशावादी रहेको बताउँछन् । 

राष्ट्रिय जागृती क्लवको संयोजनमा फुटवल प्रशिक्षक श्याम मानन्धर तथा सुरेन्द्र तामाङ्गको सहभागितामा बालबालिकाहरुलाई ग्रासरुट फुटवल प्रशिक्षण समेत गराइरहेको छ । अव फुटसलका लागि संरचना तयार गर्न नगरसरकारका तर्फबाट केही पहल हुन्छ कि भन्ने आशामा आफुहरु रहेको क्लवका कोषाध्यक्ष समेत रहेको थापाले सुनाए । 

इटहरी उपमहानगर पालिकाले अन्य स्थानीय सरकारको तुलनामा गोल्डकपको बजेटमा कन्जुस्याई गरेको राष्ट्रिय जागृती क्लवका नव निर्वाचित अध्यक्ष सन्तबहादुर डुम्जनको भनाई छ । 

त्यसो त विराटनगरको शान जोगाउँदै आएको विराट गोल्डकप संचालन गर्न महानगरका मेयर नागेश कोइराला स्वयम संयोजक बसेका छन् भने पानी मेयर भनेर भनिएका धरानका मेयर हर्क साम्पाङ्गले समेत उपमहानगरबाट छुटाइएको १० लाखमा मेयर कोषमा रहेको ३ लाख थपेर १३ लाख रकम बुढासुव्वा गोल्डकपलाई दिएका छन् । साम्पाङ्गले त वडाहरुलाई समेत बुढासुव्वा गोल्डकपको लागि सहयोग गर्न आग्रह गरेका छन् । त्यसो हुनाले पनि इटहरी उपमहानगरले कम्तीमा प्रथम पुरस्कार राशी बराबरको सहयोग गरोस भन्ने आफुहरुको अपेक्षा रहेको जागृती क्लवका अध्यक्ष डुम्जन बताउँछन् । 

इटहरी गोल्डकपको लागि विनियोजित बजेटबारे नगरप्रमुख हेमकर्ण पौडेलसँग चासो राख्दा पौडेलले सदा झैँ ५ लाख रुपैँया बजेट विनियोजन भएको र त्यसमा आयोजकले समेत थप सहयोगको अपेक्षा गरेको बताए । उनले विनियोजित बजेटमा १÷२ लाख रुपैँया थप्न सकिने संकेत गरे । 

‘बजेट निर्माण भन्दा पहिले उहाँहरु गोल्डकपको महत्वको बारेमा बताउँन आउनु भएन नियमित ५ लाख दिने गरिएको रहेछ त्यहि भएर यस्तो भएको हो आगामी बजेटमा हामी इटहरी गोल्डकपलाई थप बजेट बिनियोजन गछौँ ‘ । मेयर पौडेलको भनाई छ । 

इटहरी गोल्डकपमा यसपाली ८ वटा टिमको सहभागीता रहने बताइएको छ भने तयारीका लागि रंशशालाको भौतिक निर्माण शुरु गरीसकिएको छ । प्रदेश सरकारको सहयोगमा फ्लोटिङ्ग लाइट निर्माणको बजेट विनियोजन भएपनि गोल्डकपको मिती नजिकिएकोले सम्पन्न नहुने बताइएको छ । 

प्रदेशिक रंगशालाको नाम दिइएको इटहरी रंगशालामा अन्तराष्ट्रिय स्तरको करातेँ प्रतियोगिता, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, सभामुख कप फुटवल प्रतियोगिता, मुख्यमन्त्री कप फुटवल प्रतियोगिता, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट, क्लोज क्याम्प तथा अन्य बिभिन्न खेलकुद प्रतियोगिताहरु सन्चालन भइसकेका छन् । ३४ सय क्षमताको प्याराफिट समेत भइसकेको रंगशालामा यहि चैत ४ गतेदेखि इटहरी गोल्डकप शुरु हुँदैछ ।