रिकेश विश्वकर्मा

धरानः बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि शनिवार(भोली) एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच प्रतिस्पर्धा हुने भएको छ ।

भोली धरान १६ स्थित रंगशालामा हुने फाइनल खेलमा एभेनियर एफसी क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ । जसले जिते पनि बुढासुब्बा गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । 

बुढासुब्बामा केएफटिसिको यो तेस्रो सहभागीता हो। तेस्रो प्रयासमा फाइनल पुगेको झापाले उपाधि उचालेर इतिहास रच्न चाहन्छ। एभेनियर एफसी पनि पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको हो । यसअघि २०७५ मा आयोजित २१ औं सँस्करणमा क्यामरुनकै क्लब डाफिन्स च्याम्पियन भएको थियो। यसपाली फाइनल पुगेको एभेनियर क्यामरुनको बि डिभिजन क्लब हो।

प्रतियोगितामा एभेनियरले पहिलो खेल बागमती युथ क्लबलाई १–० ले पराजित गरेको थियो भने सेमीफाइनलमा एन्फा मोरङलाई २–० ले हराउदै फाइनल यात्रा तय गरेको छ । केएफटिसी झापाले पहिलो खेलमा बुढासुब्बाको पाँच पटक विजेता नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाएको थियो भने सेमीफाइनलमा युकेएफसि भारतलाई ३–१ ले पराजित गर्दै फाइनल पुगेको छ । 

फाइनल पुग्ने दुबै टिम नयाँ भएको र बिजेता टिम पनि नया दर्ता हुने भएकोले खेल निकै रोमान्चक हुने आयोजक प्रमुख किशोर राई बताउँछन् ।