इटहरीः राष्ट्रिय जागृती क्लब, इटहरीको आयोजनामा आगामी चैत्र ४ गतेदेखि  हुने  १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको पहिलो खेलमा साविक बिजेता मोरङ्गको सगरमाथा युथ क्लव भिड्ने भएका छन् । 

इटहरी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा युथ क्लब, मोरङ र एभनिर एफसी, क्यामरुन भिड्ने पक्का भएको हो । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चेत्र ११ गतेका दिन हुनेछ ।

प्रतियोगिता कन्ट्रोल लुब्रिकेन्टसको मुख्य प्रायोजन तथा इटहरी उपमहानगरपालिकाको विशेष सहयोगमा हुँदै छ भने अहिले रंगशालाको सौन्दर्यकरणको काम भइरहेको आयोजकले बताएका छन् ।  प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा म्यान अफ द सिरिज अन्तर्गत एक जनालाई १ लाख रुपैँया र उदियमान खेलाडीलाई ३२ इन्चको एलइडि टिभि प्रदान गरिने प्रतियोगिता संयोजक अनुरोध थापा बताउँछन् ।