इटहरीः  १३ औँ कन्ट्रोल इटहरी गोल्डकपको लागि इटहरी रंगशाला यतिवेला झकिझकाउ बन्दै गइरहेको छ । 

राष्ट्रिय जागृती क्लव इटहरीको आयोजनामा बर्षेनी आयोजना भइरहेको गोल्डकप फुटवल प्रतियोगिताको तेह्रो संस्करणको लागि रंगशाला झकिझकाउन बनाइदै गरेको हो । 

झण्डै एक महिना देखि रंगशालाको नियमित रेखदेख र सौन्दर्यकरणको काम गरिराखेको जागृती क्लव इटहरीका कोषाध्यक्ष तथा गोल्डकप प्रतियोगिताका संयोजक अनुरोध थापा बनाउँछन् । 

रंगशालालाई व्यवस्थापन गर्न नगरपालिकाको सहयोगमा पानी लगाउने देखि लिएर डोजर तथा रोलर लगाउनेका काम गर्न लागिएको थापाको भनाई थियो । 

335991718_2427683114064610_7776529312120697659_n

अघिल्ला प्रतियोगितामा भन्दा यसपालिको गोल्डकपमा इटहरी स्थानीय सरकारले समेत प्रतियोगिताको अपनत्व लिएको थापाले बताए । 

इटहरी स्थानीय सरकारले आगामी बर्षदेखि खेलकुदलाई प्राथमिकतामा राखेर बजेट बनाउने र गोल्डकपलाई दिँइदै आएको रकममा समेत वृद्धीगर्ने प्रतिवद्धता नगरप्रमुखबाट आएको  राष्ट्रिय जागृती क्लवले बताएको छ । 

नगर सरकारले गतबर्षसम्म बार्षिक ५ लाख रुपैँया इटहरी गोल्डकपको लागि दिँदै आएकोमा तेह्रो संस्करणको लागि ८ लाख रुपैँया नगद र अन्य सहयोग गर्ने भएको छ । गत बर्षसम्म रंगशालाको भौतिक पुर्वाधारमा नगर सरकारबाट कुनै प्रकारको सहयोग नभएको तर अव भने नगरप्रमुखबाट सहयोगको प्रतिवद्धता आएको बताइएको छ । 

राष्ट्रिय जागृती क्लवले गोल्डकपलाई भव्य बनाउनको लागि रंगशालाको श्रृगारदेखि लिएर प्याराफिटको व्यवस्थापनमा समेत लागिरहेको बताएको छ । 

३४ सय सिट क्षमताको प्याराफिट निर्माण भएपछि यसपाली दोस्रो पटक इटहरी गोल्डकप हुन लागेको हो । गोल्डकप नजिँकिदै गएपछि रंगशालामा रोलर लगाउने देखि लिएर सरसफाईमा समेत भइरहेको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।