इटहरीः प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको सहयोग तथा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा सुनसरीको इटहरीमा ह्वील चेयर दौड प्रतियोगिता सञ्चालन गरिएको छ । 

अपाङगता भएका ४० जना पुरुष तथा २० जना महिला खेलाडीहरुको सहभागितामा भएको दौड प्रतियोगितामा पुरुष तर्फ विष्णुकान्त चौधरी प्रथम भएका छन् भने महिला तर्फ जमुना तामाङ्ग प्रथम भएकी थिइन ।  

प्रतियोगितामा विष्णुकान्तले २ मिनेट ४२ दशमलव १८ मा निर्धारित ३ सय मिटरको दुरी पार गरेका थिए भने पुरुष तर्फ २.४६।६२ मिनेटमा पार गर्दै प्रज्वल लिम्बु द्धितीय र २.४७।३१ मिनेटमा पार गर्दै सन्देश चौधरी तृतीय भएका थिए । यस्तै महिला तर्फ प्रथम बनेकी जमुना तामाङले ३.२७।१० मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन भने ४.००।८४ मिनेटमा पार गर्दै चन्द्रिका सरदार द्धितीय र ४.२९।१७ मिनेटमा दुरी पार गर्दैै किशोर कुमारी आले मगरले तृतीय स्थान हासिल गरेकी थिइन । 

333631523_6022384864513801_532911758788773790_n

दौड प्रतियोगितामा विजयी खेलाडीलाई मेडल, प्रमाणपत्रको साथमा प्रथमलाई १० हजार नगद, द्धितीय लाई ७ हजार नगद र तृतीयलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जीनाजंग कार्की, सदस्य सचिव हंशराज वाग्ले लगायतले प्रदान गरेका थिए । 

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको प्रदेश मुख्य मन्त्री हिक्मत कुमार कार्की र विशेष अतिथीको रुपमा आमन्त्रण गरिएका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको आलोचना समेत गरिएको थियो । प्रदेश मुख्यमन्त्री कार्की सुरक्षाको कारण देखाउँदै कार्यक्रममा सहभागि भएनन् भने इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल कार्यक्रममा ढिला आएको भन्दै आलोचना गरिएको थियो ।  

शारिरिक अपाङता भएका व्यक्तिहरु समेत खेलकुदका क्षेत्रमा सहभागि हुन सक्छन् भन्ने सन्देश दिन प्रदेश खेलकुद विकास बोर्डले उनिहरुको खेलप्रेममा सहयोग गर्दै कार्यक्रमको लागि प्रायोजन गरेको बताएको छ । प्रतियोगीतामा सहभागी भएका खेलाडीहरुलाई इटहरी जेसिस तथा महिला संघले समेत उपहार प्रदान गरेका थिए ।  

336030059_1538671296621398_313388404183007836_n

कार्यक्रममा खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्ट, बोर्ड सदस्य फडिन्द्र खत्री लगायतको समेत उपस्थिती रहेको थियो । प्रदेश खेलकुद विकास बोर्डमा हंशराज बाग्ले सदस्य सचिव बनेर आएपछि खेललाई चलायमान बनाउन प्रदेशबाट साफ , एसियन र ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई सम्मान गर्ने देखि लिएर पाँच बर्षसम्म निःशुल्क उपचारको प्रवन्ध समेत गरिएको छ जसले खेलाडीलाई खेलमा लाग्ने उर्जा मिलेको छ भने प्रदेशको खेलक्षेत्र चलायमान समेत बनेको महसुस गरिएको छ ।