काठमाडौंः वैदेशिक रोजगारीका लागि बेलारुस पुगेका ९ जना नेपाली महिलालाई अलपत्र पारेको घटना प्रति नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
विहीबार नेकपा एकीकृत समाजवादीको तर्फबाट पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरले एक विज्ञप्ति सार्वजनिक गर्दै उनिहरुलाई यथाशीघ्र उद्धार गर्न सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बेलारुसमा ९ जना नेपाली महिलाहरू लामो समयदेखि अलपत्र पारिएको समाचार प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी यो गम्भिर तथा संवदेनशील परिस्थितिलाई मध्यनजर गर्दै अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकारसँग माग गर्दछ ।’
साथै, उनीहरुलाई प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने व्यक्तिलाई कानुनी दायरमा ल्याएर कारबाही गर्नसमेत एकीकृत समाजवादीले माग गरेको छ ।
अलपत्र पारिएका नेपाली महिलाहरुमा सानुमाया तामाङ(नुवाकोट), कविता थापा मगर(रामेछाप, अञ्जना मगर(रामेछाप), रत्नमाया राई(धनकुटा), पार्वतीमाया तितुङ( मकवानपुर) रहेका छन् । यस्तै, रमिता राई( भोजपुर), सुष्मा तामाङ( काभ्रेपाल्चोक), मीना गुरुङ( चितवन) र मार्था सोताङ राई( मोरङका) रहेका छन् ।