प्रकाश बन्जारा 

 इटहरीः इटहरी उपमहानगरपालिकाले आगामी बर्ष खेलकुदका लागि १ करोड रुपैँया बजेट विनियोजन गर्ने नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका छन् । 

शनिवार देखि इटहरीमा शुरु भएको इटहरी गोल्डकपको १३ औँ संस्करण खेलको उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले  इटहरी गोल्डकपको अपनत्व नगरसरकारले लिने बताए । 

इटहरी गोल्डकप आयोजना गर्दै गर्दा राष्ट्रिय जागृती क्लवले इटहरीलाई चिनाउने काम गरेको भन्दै मेयर पौडेलले प्रशंसा समेत गरेका थिए । 

चालु आर्थिक बर्ष आफुहरु निर्वाचित भएर आएको पहिलो बर्ष समेत रहेकाले चाहेजसरी बजेट निर्माण गर्न नपाएको बताउँदै मेयर पौडेलले खेलकुदका विज्ञहरु सम्मिलित नगर खेलकुद बिकास समिती बनाउने र त्यही समितिको सल्लाह बमोजिम खेल गतिविधिका कामहरुलाई नगरले अघि बढाउने मेयर पौडेलले बताए । 

333494448_730701875352297_4908405818403725907_n

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका विशेष अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशले चालु आर्थिक बर्षकै बजेटमा २ वटा फ्लट लाइटको लागि बजेट विनियोजन गरेको र आगामी आर्थिक बर्षमा थप २ वटा फ्लट लाईटका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रादेशिक रंगशाला इटहरीमा रहेकाले इटहरीको स्थानीय सरकारले पनि यसको संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए । 

शनिवार देखि इटहरी रंगशालामा संचालन भएको इटहरी गोल्डकपको उद्घाटन सत्रको औपचारिक कार्यक्रमको सभापतित्व राष्ट्रिय जागृती क्लवका अध्यक्ष सन्त बहादुर डुम्जनले गरेका थिए । प्रतियोगितालाई युनिक बनाउन ड्रोनको माध्यमबाट १३ औँ कन्ट्रोल इटहरी गोल्डकप लेखिएको व्यानरलाई फहराईएको थियो । 

८ टिमको सहभागिता रहने खेलमा शनिवार मोरङ्गको सगरमाथा युवा क्लवले क्यामरोनको एभिनियर फुटवल क्लवलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

प्रथम हुने टिमले १० लाख र द्धितीय हुने टिमले ५ लाख पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले बताएका छन् ।

333544917_1981766042159770_8170105258898851090_n