काठमाडौंः नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालयको ५३ औं बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यस्तै बैठकले पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरू घनेन्द्र वस्नेत, केदार न्यौपाने ,धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रिय सचिवालयको संख्या १९ पुगेको बताईएको छ ।
यस्तै बैठकले सरकारलाई विश्वासको मत दिने र पार्टी संसद्को सत्ता पक्षमा बस्ने समेत निर्णय गरेको छ । बैठकले पार्टी सरकारमा सहभागिताका बारेमा छलफल समेत अगाडि बढाउने निर्णय गरेको विभाग प्रमुख खतिवडाले बैठक पछि पत्रकारहरूसँग जानकारी गराए ।