काठमाण्डौः  ‘क’ वर्गको वित्तीय संस्था वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको माघ मसान्त सम्मका ४१ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। जसमा सबै भन्दा बढी नाफा कमाउने नविल बैँक रहेको छ । 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याँक अनुसार माघसम्ममा सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका हुन ।  माघ एक महिनामा मात्रै बैंकहरुले ७ अर्ब २७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन्।

चालु आर्थिक वर्षको माघसम्ममा नविल बैंकले ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो।

खुद नाफामा एनआइसि एशिया बैंक र ग्लोबल आइएमई बैंकवीच भने निकै प्रतिस्पर्धा देखिन्छ। सात महिनामा एनआइसि एशिया बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको थियो भने ग्लोबल आइएमई बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ।

यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । समग्र वाणिज्य बैँकहरुको ग्राफ  हेर्दा राष्ट्रिय वाणिज्य बैँक चौथो स्थानमा छ।