काठमाडौंः  जनप्रतिनिधिले मिटर ब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन । 

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । 

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटर ब्याज पीडितको न्यायका लागि सरकारको ध्यानाकर्षण गराए । उनले तत्काल समस्या समाधानका लागि कानुन निर्माण गर्न माग गरे । 

उनले सिन्धुलीमा हात्तीको आक्रमणको जोखिम बढेको भन्दै विद्युतीय तारबार गर्न माग गरे । उनले रासायनिक मलको सधैँको अभावलाई कम गर्न मल वितरणका लागि निजी क्षेत्रको सहयोग लिन सकिने बताए ।

नेकपा(एमाले)को सांसद भगवती चौधरीले मिटर ब्याज पीडित बैङ्क तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताइन । 

उनले भनिन, “एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन् । वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटर ब्याजको समस्याबाट पीडित भएका छन् ।”

नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले मिटर ब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । “पूर्वी तराईबाट हिँडेर मिटर ब्याज पीडित काठमाडौँ भित्र्याएको छन्, देशका हरेक भागमा मिटर ब्याजको समस्या फैलिएको छ । अहिलेको व्यवस्था मन नपराउने व्यक्ति यो समस्यालाई भड्काउन सक्छन् सरकारले हिजो वार्ता टोली गठन गरेको छ, समस्याको अध्ययन गरेर समस्या समाधान गर्न सुझाव दिने विषय सकारात्मक छ, यो समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ”, उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराइन । उनले हवाई सेवालाई सुरक्षित बनाउन विभिन्न निकायले दिएका सुझावलाई किन कार्यान्वयन नगरिएको हो भनी प्रश्न गरिन । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् परियोजनाको काम तत्काल अगाडि बढाउन माग गरे । “आयोजना निर्माण नहुँदा गोरखा र धादिङका जनताको आशामा तुसारापात मात्र भएको छैन, राष्ट्रको समृद्धिमा नै बाधा सिर्जना भएको छ”, उनले भने । नेपालले नै सो आयोजना बनाउने भनिए पनि आयोजना सम्पन्न हुनेमा आशङ्का पैदा भएको उनले बताए । 

नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले मिटर ब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौँ पुगेको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । “मिटर ब्याज पीडितका समस्या समाधान गरेर उनीहरुलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु”, उनले भने । 

जनमत पार्टीका सांसद अनिता देवीले मिटर ब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौँ आएको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न ध्यानाकर्षण गराइन । “नागरिक बाध्यताले मिटर ब्याजमा पैसा लिन बाध्य भएका हुन्, मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्छ”, उनले भनिन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटर ब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् सुरु हुने बित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताए । “पीडित ठाउँ ठाउँबाट आउने क्रम बढेको छ, प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ, समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ”, उनले भने । 

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन । उनले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गरिन । 

स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताए । उनले मल, बीउलगायत किसानका समस्या समाधान गर्न माग गरे । 

एमाले सांसद महेशकुमार बर्तौलाले ‘एक पालिका, एक आवासीय विद्यालय’को सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए । उनले दिवा खाजा कार्यक्रमलाई कक्षा १० सम्म विस्तार गर्न र सामुदायिक विद्यालय मात्र नभई सरकारसँग स्वीकृति लिएर अध्यापन गराउने मदरसा र गुम्बामा पनि खाजा कार्यक्रम विस्तार गर्न माग गरे । 

माओवादी केन्द्रका सांसद रामकुमार राईले कोशी प्रदेशको नामकरणपछि पहिचान पक्षधरले शान्तिपूर्ण आन्दोलन गर्दा मृत्युवरण गरेका पदम लिम्बूलाई सहिद घोषणा र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । कोशी प्रदेशमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरिएको भन्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । रास्वपाका सांसद गणेश पराजुलीले अस्वभाविकरुपमा बढेको बैङ्कको ब्याजदरका कारण समग्र अर्थव्यवस्थालाई असर गरेको भन्दै बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा देखिएको जनशक्तिको अभाव पूर्ति गर्न सरकारसँग माग गरे । “अस्पतालको भवन जीर्ण छ, अस्पतालमा दरबन्दी र उपकरणको व्यवस्था होस्”, उनले भने । 

एमाले सांसद लालप्रसाद साँवा लिम्बूले मुलुकको आर्थिक अवस्था सुधारमा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरे । कांग्रेस सांसद ऐनबहादुर शाहीले छिटोभन्दा छिटो मिटर ब्याजबाट पीडितको समस्या समाधान गरेर उनीहरुलाई आ–आफ्नो घर फिर्ता गर्न सरकारको ध्यानाकर्षण  गराए । रासस