सुशिला उप्रेती
इटहरीः भन्सार विभाग, काठमाडौँका तत्कालीन नायव सुव्वा (हाल अवकाश प्राप्त) रघुनाथ घिमिरेले एयरपोर्ट भन्सार लगायत विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा कार्य गर्दा २ करोडबढी रकम अवैधानिक रुपमा फेला परेको छ ।
घिमिरेले राजश्व हिनामिना गरी राजश्व छल्नुका साथै गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको अख्तियारले फेला पारेको हो ।
उनले अवैधानिक रुपमा कमाएको सम्पति विभिन्न कम्पनीहरुमा लगानी गर्नुको साथै शेयर खरिद तथा जग्गा खरिद लगायतको कार्यमा लगानी गरेको अख्तियारले जनाएको छ ।
उनी विरुद्ध अख्तियारमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा घिमिरेले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि अवकाश आउने मितिसम्मको अनुसन्धान जाँच अवधिमा निजको वैधानिक घिमिरेको पारिश्रमिक, निजको श्रीमती शारदा गौतमको पारिश्रमिक, निजको छोरीको पारिश्रमिक आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल (घर भाडा), कम्पनी लाभांश वापत प्राप्त वैधानिक आय, निजको श्रीमती शारदा गौतमले अभिकर्ता कमिसन वापत प्राप्त रकम, राजश्व अनुसन्धान विभागबाट प्राप्त गरेको पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय (शेयर प्रतिफल) र अवकाश पश्चात प्राप्त आयसमेत गरी जम्मा पाँच करोड पच्चीस लाख सोह्र हजार तीन सय सत्ताईस रूपैया चवालीस पैसा देखिएको अख्तियारको ठहर छ ।
सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माण, रजिष्ट्रेशन दस्तुर र पुँजिगत लाभकरमा भएको खर्च, विभिन्न कम्पनीहरुको शेयर खरिदमा भएको खर्च, कर्जारऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम तिरेको खर्च रकम, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, विद्युतीय उपकरण खरिदमा भएको खर्च, बैंक मौज्दात रकम, विदेश भ्रमण खर्च, सुन तथा चाँदी खरिदमा भएको खर्चसमेत गरी जम्मा सात करोड उनान्चालीस लाख बैसठ्ठी हजार नौ सय चौरासी रुपैया सडसठ्ठी पैसा खर्च तथा लगानी गरेको देखिंएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
घिमिरेको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा दुई करोड चौध लाख छयालीस हजार छ सय सन्ताउन्न रुपैयाँ चौबीस पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ । सो रकमको आयस्रोत स्पष्ट नभएपछि अख्तियारले प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै घिमिरेले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहरगरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिम दुई करोड चौध लाख छयालीस हजार छ सय सन्ताउन्न रुपैयाँ चौबीस पैसा विगो कायम गरी मुद्धा दर्ता गरिएको हो ।
साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजायको माग दावी गरि बिषेश अदालतमा मुद्धा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
प्रवक्ता दाहालका अनुसार घिमिरेले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको २ करोडबढीको सम्पत्ति उनको श्रीमती शारदा गौतमको नाममा हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम जफतरअसुल उपर गरी पाउन मागदावी लिइएको छ ।
यसैगरी घिमिरेले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती शारदा गौतमको नाममा खरिद गरिएका जग्गा, घर निर्माण, कम्पनी लगानी, शेयर खरिद र बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च वरावरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम शारदा गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।