इटहरीः गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले एकल महिलाबाट जन्मेका बच्चालाई ‘मावलीकै थर’ बाट जन्मदर्ता प्रदान गर्ने भनी यस अघि जारी गरेको परिपत्र सच्चाएको छ ।
सवत्र विरोध भएपछि मावलीको थर कायम रहने भन्ने शव्दलाई सच्चाउँदै गृह मन्त्रालयले ‘बच्चा जन्मिँदा कायम आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने’ भनी सच्याएको हो ।
गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत २२ गते स्थानीय पञ्जिकाधिकारीहरुलाई परिपत्र जारी गर्दै ‘मावली थर’ राख्ने व्यवस्था गरिएको थियो ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले हस्ताक्षर गरी आइतबार जारी गरेको परिपत्रमा भनिएको छ, ‘बच्चाको जन्म दिने आमाको लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै संविधानअनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्न परिपत्रका सम्बन्धमा थप स्पष्ट पारिएको छ ।’
सच्याइएको परिपत्रमा सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको सन्दर्भमा आमाको हालको स्थायी ठेगानाबाट, कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता गर्दा आमाकै स्थायी ठेगाना भएको वडा कार्यालयबाट, बालविवाह, बहुविवाहबाट जन्मेका बच्चाको कानुनबमोजिम तथा मातृत्व÷पितृत्व पत्ता नलागेको, कुनै पनि परिवार नभएको प्रमाणित भएमा संरक्षकले दिएकै ठेगाना, नाम र थर राखी जन्मदर्ता पाउने बुँदाहरू थप गरिएको छ ।