काठमाडौंः कठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले सिहंदरबारले फोहोर देखोस भनेर नउठाइएको बताएका छन् । 

सरकारले फोहोर व्यवास्थापनकालागि महानगरसँग समन्वयनकारी भुमिका निर्वाह नगर्दा आफुले यस्तो कदम चालेको उनको प्रष्टोक्ति छ ।  

 दवाव आवश्यक छ भन्ने देखाउन पनि आफ्नो यस्तो निर्णय आएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा बालेन साहले सरकारले जनप्रतिनिधिको कुरा नसुनेको र नबुझेको समेत दावी गरेका छन  । 

केही दिनदेखि सिंहदरबारको फोहोर काठमाडौं महानगरले उठाएको छैन। केन्द्र सरकारले नजिकैको स्थानीय सरकार (काठमाडौं महानगर) सँग पनि समन्वय नगरेको उनले आरोप लगाएका छन । 

सरकारले समन्वय नगर्दा महानगरले उठाएका जनजीविकाका मुद्दा पनि अगाडि नबढेको पनि उनले बताए।

‘५०० मिटर नजिकैको स्थानीय सरकार (महानगर) का कुरा त सुनेको नसुनै हुन्छ ।  दुरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतको सम्बोधनको अवस्था कस्तो होला ?,’ उनले प्रश्न गरेका छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

उनले केही दिनअघि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताए । ‘त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन। बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो,’ उनले भने, ‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक–पटकको कोसिसपछि ९ महिना पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुश्किल परेको अवस्था छ।’

यस्ता छन् मेयरले फोहोर नउठाउने निर्णय गरेका १४ कारण 

१.गृह मन्त्रालयः अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ती चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालयः विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार  ।

३. शिक्षा मन्त्रालयः  सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालयः  सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

 ५. पर्यटन तथा नागरिक उड्ययनः  एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६. अर्थ मन्त्रालयः  ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

340457920_968286554374751_7529041862251068973_n

७. सहरी विकासः  खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा  – ४ मन्त्रीसँग पटक पटक पहल ।

८. भौतिक यातायातः रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

९.सूचना तथा सञ्चारः  आइएसपी र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल ।

 १०. ऊर्जा मन्त्रालयः  सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल । 

११. खानेपानीः  मेलम्चीको पानी र पाइप व्यवस्थापन, प्ग्प्ी को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल । 

१२. भूमिसुधार मन्त्रालयः सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल ।

१३. सङ्घीय मामिलाः  तिनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल ।

१४. कृषि  मन्त्रालयः  मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल ।