काठमाडौंः अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसनका प्रतिनिधिसँग छलफल गरेका छन् ।
अर्थमन्त्रालयमा बुधबार अपरान्ह भएको छलफलमा स्विस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थासँग अर्थमन्त्री महतले नेपालमा नीजि लगानी विस्तारबारे छलफल गरेका हुन् ।
छलफलमा नेपालको विकासमा आवश्यक नीजि पूंजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा सहभागि डिएफआईका प्रतिनिधिलगायतले नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा सुझाव प्रस्तुत गरेको र मन्त्री महतले उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको उनको सचिवालयको भनाई छ ।
सन् २०२६ पछि नेपाल कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस भएको सन्दर्भमा वैदेशिक सहायता कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडी बढ्न आजको छलफल सान्दर्भिक रहेको अर्थमन्त्रीको भनाई छ।
छलफलमा एडिबी, बिआईआई, डिएफसी, एफएमओ, प्रोपार्को र एसआइएफइएमलगायतका अन्तर्राष्ट्रिय सहयोगी संस्थाका प्रतिनिधिहरुको सहभागिता थिए ।