काठमाडौंः सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै सन्तोषजनक काम नभएको भन्दै १५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ ।
जारी सूचना अनुसार शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ ।
यसैगरी दीपक सापकोटा मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्णप्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिनाका लागि कालो सूचीमा राखिएको छ । यस्तै अन्य १० वटा कम्पनीहरु पनि एक वर्ष कालोसूचीमा परेका छन् ।
कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।