काठमाण्डौः नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम विपरीत काम गर्ने ९ बटा बैँकलाई कारवाही गरेको छ । 

जसमा निक्षेप र कर्जाको अनुपात कायम नगर्ने ६ वटा र अन्य ३ वटा बैँक परेका छन् । कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको हो  । 

राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेका तत्कालीन सेन्चुरी बैंक (हाल प्रभु बैंक) लाई २ करोड ८४ लाख रुपैयाँ, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ जरीवाना तिराएको छ ।

 यस्तै, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक पनि कारवाहीमा परेका छन् । यी बैंकहरुले क्रमशः ४ करोड ४२ लाख ४६ हजार रुपैया, ६९ लाख ५८ हजार रुपैयाँ र ७१ लाख ७२ हजार रुपैयाँ तिरेका छन् । सम्पति शुद्धीकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि राष्ट्रिय वाणिज्य बैंकलाई पनि कारवाही गरिएको छ । यसलाई केन्द्रीय बैंकले १० लाख रुपैयाँ जरिवाना तिराएको छ । 

 यता, तत्कालीन एनसीसी बैंक (हाल कुमारी बैंक)ले एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जामा पर्याप्त नोक्सानी व्यवस्था नगरेको र कर्जाको प्रिमियम दरमा हेरफेर गरेको भन्दै राष्ट्र बैंकले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

यस्तै, एनसीसीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारी भन्दा बाहिर गएर कर्जा स्वीकृत गरेपछि उनलाई ५ लाख रुपैयाँ जरीवाना गरिएको छ । साथै, तत्कालीन कुमारी बैंकले पनि  औचित्य पुष्टि नहुने गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको र मुद्दति निक्षेपमा प्रकाशित भन्दा बढी ब्याजदर प्रदान गरेको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।