काठमाडौंः दिउँसो आफ्नै पसलमा बसेका वेला धारिलो हतियार प्रहार गरी बिहीबार काठमाडौं– ६ सरस्वतीनगरमा भएको महिलाको हत्या रहस्यमय बनेको छ । पटक–पटक धारिलो हतियार प्रहार गरी भएको हत्या हुँदा पनि छिमेकीले थाहा नपाउनु र हत्यारा सजिलै भाग्दा कसैले नदेख्नुले घटना शंकास्पद बनेको हो ।
बाग्लुङ स्थायी घर भएकी निरा आचार्यको सरस्वतीनगरस्थित पसलभित्रै हत्या भएको हो । उनले ‘निरू किचेन’नामक पसल चलाउँदै आएकी थिइन् । पसलको काउन्टरमा उनको हत्या भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बिहीबार साढे दुईदेखि तीन बजेको बीचमा उनको हत्या भएको थियो । एक ग्राहकले उनलाई पसलमा रगताम्य अवस्थामा देखेपछि मात्र वरिपरिका व्यक्तिले त्यसको जानकारी पाएका थिए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो । हत्यापछि उनको शव हत्याराले नै बोराले छोपेका थिए ।
बजार क्षेत्र भएकाले उनको पसलवरिपरि अन्य पसल पनि छन् । तर, त्यसरी क्रूर तरिकाले हत्या हुँदा पनि छिमेकीले कुनै जानकारी पाउन सकेनन् । उनको शरीरभरि धारिलो हतियारको चोट थिए । नजिकै सिसिक्यामेरा पनि चालू अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टिम बनाएर घटनाको अनुसन्धान अघि बढाएका छन् । तर, शुक्रबारसम्म कुनै सुराक पाउन सकेका छैनन् । पसलबाट पैसा तथा सरसामान चोरी नभएकाले सम्पत्तिभन्दा प्रतिशोधस्वरूप हत्या भएको आकलन प्रहरीले गरेको छ ।
‘घटना अलि रहस्यमय नै छ, प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल भन्छन्, ‘छिट्टै नतिजा ल्याउने गरी काम भइरहेको छ ।’ सरस्वतीनगरमै बस्ने उनका श्रीमान्ले पनि अर्को पसल सञ्चालन गर्दै आएका छन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।