इटहरीः खेलकुद, स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा नविनतम रुपमा बृहत्त कार्य गर्ने उद्धेश्यका साथ इटहरीमा अल्टीट्युड क्लबको स्थापना भएको छ । 

नेपाल ओल्मपिक कमिटिका सह महासचिव रहेका इटहरी निवासी पिताम्बर तिम्सिनाको अध्यक्षतामा सो क्लबको स्थापना भएको हो ।

तिम्सिनाका अनुसार क्लबले केही दिनमै आफ्ना बार्षिक कार्यक्रमहरु सार्वजनिक गरि कार्यान्वयनमा जाने छ । जसबाट उपमहानगरबासीले तत्कालै केही राहात महसुस गर्ने उनको दावी छ । 

 क्लबले शनिवार इटहरीको प्रशिद्ध पर्यटकिय क्षेत्र तालतलैयामा एक कार्यक्रमको आयोजना गरि आफ्नो लोगो अनावरण गरेको छ । 

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका खेलाडी समेत रहेका तिम्सिनाकै पहलमा आफ्नो भूगोलमा रहेर क्लब मार्फत निस्वार्थ भावनाका साथ खेलकुद, स्वास्थ्य, शिक्षा र वातावरणको विकासमा होमिनका लागि क्लबको स्थापना गरिएको हो । 

शनिवार तालतलैयामा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र कोशी प्रदेशका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संयुक्त रुपमा सो क्लबको लोगो अनावरण गरेका हुन् । 

क्लबको मुख्य कार्यालय इटहरी वडा नम्बर २ मा राखिएको छ । क्लबमा इटहरी क्षेत्रका नाम कहलिएका युवाहरु रहेका छन् । क्लबको उपाध्यक्षमा फुटबलबाट अन्तराष्ट्रिय तहसम्म आफ्नो पहिचान बनाउन सफल फुटबल प्रशिक्षक सुरेन्द्र तामाङ रहेका छन् । 

लोगो अनावरणपछि कार्यक्रममा बोल्दै कोशी प्रदेशका खेलकुद विकास समितिका सदस्य सचिव वाग्लेले क्लबको शुरुवातले नै गतिलो सन्देश दिएकाले क्लबसँग आफु र खेलकुद विकास बोर्ड सहकार्य गर्न सधै तत्पर रहेको बताए । 

342354141_1183206215726545_5893415210573025455_n

लोगो अनावरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै इटहरी उपमहानगरपालिकाका प्रमुख(मेयर) हेमकर्ण पौडेलले क्लबमा आवद्ध युवाहरुको जमातले छिट्टै नै सगरमाथाको उचाई लिने विश्वास व्यक्त गरे । उनले क्लबसँग आफु र नगरपालिका सधैगरि सहकार्य गर्न तयार रहेको बताए । उनले इटहरीको खेलकुद क्षेत्रको विकास गर्न अघिल्लो कार्यकालका जनप्रतिनिधिले सहि तरिकाले योजना बनाएर कार्यक्रम ल्याउन नसक्दा खासै प्रगति नभएको दावी गरे । उनले आफु नगरप्रमुख भएपछि ऐन कानून बनाएर नगर खेलकुद विकास बोर्ड नै बनाएर खेलक्षेत्रको विकासमा नगरपालिका लाग्ने योजना अनुसार यसै महिनाभित्रमा बोर्ड गठन भईसक्ने बताए । उनले बोर्डमा खेलकुद क्षेत्रमा सर्मपित भई देशलाई अन्तरािष्ट्रय तहसम्म चिनाउन सफल इटहरी नै घर भएका खेलाडीहरुलाई समेट्ने आफ्नो योजना रहेको सुनाए । 

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले क्लबसँग वाणिज्य संघपनि सहकार्य गर्न तयार रहेको बताए । क्लबमा आवद्ध धेरै युवाहरु इटहरीको सफल व्यवसायी पनि रहेकाले हाल व्यवसायीहरुमा आएको कर, बैंक र पार्किङको समस्या हलका निम्ति पनि सहकार्य गरेर आफु अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए । 

कार्यक्रमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष माधव कोइराला, क्लबका पहिलो आजिवन सदस्य पूर्ण राई, उपाध्यक्ष सुरेन्द्र तामाङले पनि आ आफ्नो विचार राखेका थिए । कार्यक्रममा नागरिक समाज इटहरी अध्यक्ष राजु केसी, इटहरी उपमहानगर वडानम्बर १ का वडाअध्यक्ष रतन(कैलाश) कार्की लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पशुपति केसीले संचालन गरेका थिए ।