काठमाडौंः नेपाली काँग्रेसले चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेद्वार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको छ ।
आइतबार दिउँसो नेपाली काँंग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
लामिछानेले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै निर्वाचन ऐन, निर्देशिका, कार्यविधि तथा निर्देशन बमोजिम कारवाहीको माग गर्दै काँग्रेस चितवनले उजुरी दिएको हो ।
निर्वाचन प्रक्रिया सुरु भइसकेपछि पनि उम्मेद्वार लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको अडियो भिडियो सार्वजनिक भएको पनि उजुरीमा उल्लेख गरिएको छ ।
यस्तै मतदान भइरहेको समयमा पनि बिभिन्न मतदान केन्द्रमा समर्थकको भीड लिएर लामिछानेले अराजक गतिविधि गर्दा मतदान नै रोक्नु परेको अभियोग पनि उजुरीमा लगाइएको छ ।
यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आचारसंहिता उल्लंघन गरेका स्वीकार गर्दै क्षमायाचना गरेपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्थगित भएको मतदान पुनः सुरु भएको थियो ।
उता कृष्णपुर माविमा पनि उम्मेद्वार लामिछाने र रास्वपाकै कार्यकर्ताका कारण मतदान अवरुद्ध भएको भएको थियो । नेपाल न्युज बैंक