काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले ८ वर्षअघिको भूकम्पलाई सम्झिएर तर्सिने नभइ आगामी दिनमा त्यसको लागि तयार भएर बस्नु पर्ने बताएका छन् । 

आठ बर्ष अघि आजैका दिन गएको भूकम्पको स्मरण गर्दै प्रमुख साहले  सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सावधानी ठूलो सुरक्षा भएको बताएका छन् । उनले अव्यवस्थित कुराहरु व्यवस्थित र सार्वजनिक ठाउँहरु खुल्ला राख्नुपर्ने भन्दै भोलि हुन सक्ने अफ्ठ्याराहरुका लागि आजैदेखि सावधान हुनु आवश्यक भएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, हाम्रो बिर्सने बानी छ । ८ बर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो । अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ । 

महानगरपालिकाका प्रमुख साहले काठमाण्डौ महानगरको नीति भनेको भोलिका लागि काठमाडांैलाई तयार पार्ने रहेको पनि उल्लेख गरेका छन् ।  उक्त कामको लागि सबैको सहकार्य र समन्वयको आवश्यकता भएको पनि उनको भनाइ छ ।