काठमाडौँः नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा अभद्र व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक गिरीले अध्यक्ष ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुंगामुढाको प्रयास भएको जानकारी गराएका थिए । घट्नाको बारेमा उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै नेताहरुको सुरक्षामा सचेत हुन आग्रह गरे ।
गिरीले भने ‘कार्यक्रम स्थल भन्दा बाहिर बसेर हाम्रा पार्टीको अध्यक्षलाई होहल्ला गर्ने कार्यक्रम विथोल्न कार्य गर्ने र शान्ति भङग गराउने खालका गतिविधि भए । हामी नेकपा एमाले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छौ । अध्यक्षमाथि ढुंगामुढाको प्रयास समेत भएको छ । ’
प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पारे ।