काठमाडौंः चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी व्यापारी निरा पाण्डे आचार्यको हत्या चोरी गर्ने नियतले भएको खुलेको छ । 

क्यासिनोमा बाउन्सरको काम गर्ने विनोद बिकले लुट्ने उद्देश्यले नै निराको हत्या गरेको स्वीकारेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको अनुसन्धानबाट खुलेको जानकारी दिए । 

एसएसपी आचार्यले भने ‘बिकले निराको हत्यापछि उनले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११–१२ हजार रुपैयाँ लुटपाट गरेका रहेछन्, लुटिएको सुनको सिक्री बालाजुको एक सुन पसलमा ५५ हजारमा विक्रि गरेको पाइयो, हत्या गर्नुको कारण पैसाको अभाव नै देखियो ।’ 

Photo (1) (5)

हत्यामा संलग्न बिकलाई प्रहरीले शनिबार झापाबाट पक्राउ गरेर ल्याएको थियो । उनलाई आइतबार सीआइबीले पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । 

हत्या गरेपछि बिक ६ दिनसम्म काठमाडौंमा नै बसेका थिए । निराको हत्याअघि बिकले उक्त पसलको रेकी गरेको र दोस्रो पटक गई हत्या गरेको पनि प्रहरीले बताएको छ । भाँडा किन्ने बहानामा पसल छिरेका बिकले निरालाई पछाडिबाट आक्रमण गरी हत्या गरेका थिए । 

सीसीटीभी फुटेजको आधारमा गरिएको अनुसन्धानबाट प्रहरी बिकले हत्या गरेको निष्कर्ष निकालेको थियो । नेपाल न्युज बैंक