काठमाडौंः चन्द्रागिरी नगरपालिका स्थित बलम्वु १२ मा खानेपानीको अभाव भएपछि स्थानीय बासिन्दाले नगरपालिका कार्यालयमा खाली गाग्री राखेर धर्ना वसेका छन् ।
प्राकृतिक मुहान सुकेको र सम्झौता गरेको पानी पनि सुकेको कारण अहिले पानीको समस्या भएको भन्दै स्थानीयवासी रित्तो गाग्री बोकेर नगरपालिकाको कार्यालय पुगेका हुन् ।
स्थानीयवासी भन्छन् ‘ अहिले प्रति दिन १ जार पानी पाउन पनि गाह्रो छ । ५ किलोमिटर हिडेर पानी लिन जानु पर्ने अवस्था छ । उनले भने वडामा पनि कुरा राखेका छौ । माग पूरा नभए सम्म खाली गाग्री यहि राख्छौ । ’
उनीहरुका अनुसार नेपाल खानेपानी कम्पनीसंग सम्झौता गरेर दैनिक २ लाख लिटरको दरले पानी लिने सम्झौता भएको थियो । पहिला जनघनत्व कम हुँदा पानी पर्याप्त थियो तर अहिले जनघनत्व व्यापक वृद्धि भएकोले पानीको अभाव सुरु भएको उनीहरुको भनाइ छ ।
दुई पक्षबीच भएको सम्झौतापछि प्रति दिन २ लाख लिटर पानी पाउनु पर्छ भनेर स्थानीयको माग छ । पानीको पर्याप्त वितरणका लागि वडा र नगरपालिकाले सहजीकरण गर्नुपर्ने उनीहरुको भनाइ छ ।